विकास र समृद्धिका लागि नयाँ शक्ति : भट्टराई
म्याग्दी, २२ पुस । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले मुलुकको विकास र आर्थिक समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताएका छन् ।
नयाँ शक्ति अभियान म्याग्दीले बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भइसकेकाले अब आर्थिक विकास र समृद्धिले मात्रै मुलुकको विकास सम्भव रहेको बताए ।
विभिन्न सङ्घर्षबाट संविधानसभामार्फत जारी भएको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विभिन्न अधिकार सुरक्षित गरेको बताउँदै उनले यसैको जगबाट बेरोजगारी, गरिबी र पछौटेपन हटाउन आर्थिक समृद्धिको बाटोतर्पm अगाडि बढ्नुपर्ने बताए ।
‘‘राजनीतिक परिवर्तनले अधिकार प्राप्त भएको छ, यसले ढोका खोल्ने काम मात्रै गरेको छ, अब आर्थिक विकास र समृद्धिको लक्ष्यमा पुग्न नयाँबाटोबाट अगाडि बढ्नुपर्छ”, नेता भट्टराईले भने ।
विभिन्न पार्टी, व्यवसाय र क्षेत्रमा लागेका युवाहरूलाई आफ्नो अभियानमा सरिक हुन आह्वान गर्दै उनले मुलुक विकासको कार्ययोजनासहित निकट भविश्यमै नयाँ शक्ति अभियानलाई राजनीतिक शक्तिको रुप दिने तयारी भइरहेको जानकारी दिए ।
‘आर्थिक विकासबिना परिवर्तन असम्भव’
यसैबीच, संयोजक डा भट्टराईले आर्थिक परिवर्तन र समृद्धिबिना परिवर्तन संस्थागत नहुने बताएका छन् ।
बागलुङमा आयोजित अन्र्तक्रिया कार्यक्रममा नेता भट्टराईले संविधान राज्यको दिशाबोध र चरित्र निर्धारण गराउने आधारमात्रै भएको बताउँदै भट्टराईले पुरानो सोच, शैली र सिद्धान्त अब नयाँ नेपालका लागि काम नलाग्ने बताए ।
संविधान निर्माणका क्रममा भएको त्रुटिका कारण मधेस आन्दोलन भएको बताउँदै उहाँले त्यसको छिट्टै समाधान गर्नुपर्ने बताए ।
२१ पुस २०७२, मंगलवार २१:३८ बजे प्रकाशित