व्यवस्थापिका संसद्बाट तीन प्रस्ताव पारित

काठमाडौँ, २० पुस । व्यवस्थापिका–संसद्को आजको बैठकमा एक विधेयक सर्वसम्मतिले पारित गर्नुका साथै अन्य तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको ‘बैंकिङ कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक, २०७१ र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

शिक्षामन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले प्रस्तुत गर्नुभएको ‘शिक्षा (आठौँ संशोधन) विधेयक, २०७२ सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

यसैगरी स्वास्थ्यमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री खरेलले प्रस्तुत गर्नुभएकोे ‘खोप विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले पारित गरेको थियो ।

यसअघि महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथिको सामान्य छलफलमा सांसद डिल्लीप्रसाद काफ्लेले राख्नुभएको स्वास्थ्य संस्था निजी क्षेत्रलाई दिन नहुने भन्ने प्रस्तावमा त हुन नसकिने तर सरकारको अनुमति नलिई खोपसम्बन्धी कार्यक्रममा भाग लिन नपाउने मन्त्री खरेलले बताए ।

मन्त्री खरेलले जवाफ दिनुअघि सांसद रामहरि खतिवडाले मन्त्री धेरै बनाइएको तर सम्बन्धित मन्त्री सदनमा उपस्थित नभएको भन्दै सम्बन्धित मन्त्रीबाटै विधेयक प्रस्तुत गर्न माग गरेका थिए ।

बैठकको प्रारम्भमा सभामुख घर्तिमगरले कार्यव्यवस्था परामर्श समितिमा विभिन्न सदस्यको नाम हेरफेर गरेको जानकारी दिए । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि मङ्गलबार १ बजे बस्नेछ ।

२० पुस २०७२, सोमवार १०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु