राप्रपा नेपाल राजतन्त्रको मुद्धा छाड्दैन : थापा
कास्की, २० पुस । उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यकर्तालाई पार्टी एजेन्डामा विचलित नहुन अपिल गरेका छन् ।
राप्रपा नेपाल निकट प्रजातान्त्रिक युवक सङ्गठन नेपाल कस्कीको तदर्थ समिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष थापाले भने ‘‘पार्टी सरकारमा गयो भन्दैमा हामी हाम्रा एजेन्डा र सिद्धान्तबाट कति पनि विचलित भएका छैनौँ’’ उहाँले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो–“सरकारमा रहेर जनताको विश्वास जित्ने र विश्वासका आधारमा हाम्रा एजेन्डा स्थापित गर्न अभियानमा अझै सक्रियताका साथ लाग्नुपर्दछ ।”
जनताको साथ र समर्थन हुदाहुदैँ पनि गणितीय आधारमा सम्झौताको दस्तावेजका रुपमा संविधान निर्माण आउँदा हाम्रा एजेन्डा नसमेटिएको उनको भनाइ थियो ।
उनले पार्टीका एजेन्डा स्थापित गर्नका लागि सङ्ख्या बढाउनतिर लाग्न कार्यकर्तालाई निर्देशन दिए । राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई कायम गर्नका लागि राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिका रुपमा राप्रपा नेपालको उदय भएको उनको भनाइ थियो ।
विसं २०६२ साल मङ्सिरमा भारतको राजधानी नयाँदिल्लीमा भएको १२ बुँदे समझदारी र आन्दोलन पछाडि अवलम्बन गरेको त्रुटिपूर्ण बाटोले देश गम्भीर सङ्कटमा पर्दछ भनेर उही बेला भन्दै आएको बताउँदै स्थानीय विकास मन्त्रालयसमेत सम्हालेका थापाले भने –“हामीले भनेको सही प्रमाणित हुँदै आएको छ, यसको समाधान गर्न पनि राप्रपा नेपाल नै अग्रणी पार्टीका रुपमा क्रियाशील हुनेछ ।”
२० पुस २०७२, सोमवार १०:०३ बजे प्रकाशित