तत्कालै ओलीको सरकारबाट बाहिरिदैनौँ : प्रचण्ड

महोत्तरी, २० पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता गर्ने मधेसीहरु नै देशको सच्चा मधेसी हुने बताएका छन् ।

दुई नम्बर प्रदेशको दुईदिने बैठकमा सहभागी हुन महोत्तरीको बर्दिवास आउनुभएका अध्यक्ष दाहालले पत्रकारको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

“मधेसवादी दलले जति छिटो नाकाबन्दी खोल्छ त्यति छिटो नै उहाँहरुलाई देशका जनताले राष्ट्रिय नेता भन्ने छन्”, उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका दाहालले भन्नुभयो, ‘‘सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनकारी पक्षबीच आइतबार साँझ भएको वार्ता सकारात्मक र उपलब्धिमूलक भएको छ । अब छिटै मुलुकले निकास पाउँछ ।’’ उनले भने ।

एकीकृत नेकपा (माओवादी)ले आन्दोलनकारी र सत्ता पक्षबीच पुलको काम गरिरहेको बताउँदै उनले एमाओवादी सरकारमा गएदेखि नै मधेसी, थारूलगायतको समस्या समाधान गर्न निरन्तर पहल र प्रयासरत रहेकोे जिकिर गरेका थिए ।

अध्यक्ष दाहालले संसद्मा दर्ता भएका दुई विधेयक पनि आफूहरुकै कोशिसमा अघि बढेको उनले समेत दाबी गरे ।

एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले आफ्नो पार्टीले सरकार छाड्ने कुरा बिल्कुलै गलत रहेको भन्दै बाबुराम भट्टराईलगायत नेताहरु पार्टी छाडेर गए पनि वास्तविक माओवादी पार्टीमै रहेका बताए ।

२० पुस २०७२, सोमवार ०९:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु