एमालेको राष्ट्रिय एकता सुदृढीकरण अभियान
पाल्पा, २० पुस । नेकपा एमाले पाल्पाले ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान, २०७२’ सञ्चालन गर्ने भएको छ ।
पुस मसान्तसम्ममा पाल्पा जिल्लाभित्रका सबै गाउँ कमिटी र नगर कमिटीको बैठक सम्पन्न गर्ने, माघ २३ गते जिल्लास्तरको प्रशिक्षण भेला तानसेनमा सम्पन्न गर्ने एमालेले जनाएको छ ।
त्यसैगरी, फागुन ८ गते भैरहवामा हुन गइरहेको लुम्बिनी अञ्चलस्तरीय जनसभामा पाल्पा जिल्लाबाट बढीभन्दा बढी कार्यकर्ता सहभागी गराउने निर्णय गरेको छ ।
बैठकले विकास निर्माणमा पार्टीले उचित ध्यान दिँदै जिल्ला कमिटी तथा मातहत कमिटीको सङ्गठन चुस्त दुरुस्त बनाउँदै कार्यकर्तालाई उत्पादनशील कार्यमा लाग्नसमेत आह्वान गरेको एमाले पाल्पा सचिव ओमबहादुर घर्तीले बताए ।
नेकपा एमाले पाल्पामा आइतबार जिल्ला कमिटी अध्यक्ष देवीप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा केन्द्रीय कमिटी उपाध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय इन्चार्ज युवराज ज्ञवाली,केन्द्रीय कमिटी सचिव तथा सङ्गठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री दलबहादुर राना, केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज वैजनाथ चौधरी, केन्द्रीय कमिटी सदस्य तथा उद्योग मन्त्री सोमप्रसाद पाण्डे, केन्द्रीय कमिटी सदस्य कृषि तथा भूमिसुधार विभाग प्रमुख ठाकुर गैरे, सांसद राधाकृष्ण कँडेल, धनेन्द्रराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
२० पुस २०७२, सोमवार ०३:२८ बजे प्रकाशित