आँखा शिविरबाट २५० लाभान्वित

म्याग्दी, १९ पुस । बेनी नगरपालिका– १ रत्नेचौरमा शनिबार सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट २५० जना लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाले आयोजना गरेको शिविरमा निःशुल्क आँखा परीक्षण, परामर्श, औषधि र चस्मा वितरणको सुविधा दिइएको थियो ।

शिविरमा २५० जनाले आँखा परीक्षण गराएको र छजना मोतियाबिन्दुका बिरामीको पहिचान भएको उपशाखाका कोषाध्यक्ष एकादन्त शर्माले जानकारी दिनुभयो । मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइने उनले बताए ।

आँखा उपचार केन्द्र, बेनीका प्राविधिक दिनेश बानियाँ र विकास पुर्जाको टोलीले सेवा दिएको शिविरको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री अमर बानियाँले उद्घाटन गरेका थिए ।

भूकम्पपीडितलाई न्यानो कपडा पठाइयो

चिसोका कारण समस्यामा परेका विभिन्न जिल्लाका भूकम्पपीडितका लागि म्याग्दीबाट न्यानो कपडा पठाइएको छ ।

बेनीमा रहेका लायन्स क्लबले घरदैलो अभियान सञ्चालन गरी सङ्कलन गरेको न्यानो कपडा प्रभावित जिल्लामा पठाएका हुन् । एक हजारजनाका लागि पुग्ने करिब रु पाँच लाख मूल्य बराबरको पाँच बोरा कपडा काठमाडौँस्थित लायन्सको कार्यालयमार्फत गोरखा र सिन्धुपाल्चोक जिल्लामा पठाइएको लायन सन्तोष रावलले जानकारी दिए ।

लायन्स क्लब अफ बेनी म्याग्दी, बेनी दोभान, बेनी चौतारी, बेनी मल्लाज र लियो क्लब अफ बेनी म्याग्दीले बेनी बजारमा शुक्रबार घरदैलो गरेर कपडा सङ्कलन गरेका थिए । लायन्सका पदाधिकारीहरुको टोलीले पसल तथा घरबाट लगाउने, ओढ्ने, ओछ्याउने कपडा सङ्कलन गरेका थिए ।

१९ पुस २०७२, आइतवार ०४:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु