सङ्घीय शिक्षा नीति आउनेछ – शिक्षामन्त्री
नेपालगन्ज, १६ पुस । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सरकारले सङ्घीय प्रदेशसँग मेलखाने शिक्षा नीति तर्जुमा गर्न आवश्यक गृहकार्य सुरु गरेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले नागरिकले अपेक्षा गरेअनुरुपको काम गर्न नसकेको स्वीकार्दै ग्यास, पेट्रोललगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि प्रयास गरिरहेको दाबी गरे ।
एकीकृत नेकपा (माओवादी)का सचिवसमेत रहनुभएका मन्त्री पोखरेलले जनताको सहभागितामा निर्माण गरिएको संविधानले मुलुकलाई आर्थिक समृद्धि, विकास तथा युगान्तकारी परिवर्तनको दिशामा अग्रसर गराउने विश्वास दिलाउँदै सीमाङ्कनका मुद्दालाई सहमतिबाट टुंगो लगाइने उल्लेख गरे ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले मुलुकका राजनीतिक दल फुटेर हैन, जुटेर संविधानको कार्यान्वयनको दिशामा क्रियाशील हुनुपर्ने धारणा राख्दै संविधानले सबै नागरिकलाई समान अधिकार दिएको जिकिर गरे ।
१५ पुस २०७२, बुधवार २३:५२ बजे प्रकाशित