नागरिक एपबाट कसरी बैंक खाता खोल्न सकिन्छ ? तरिका थाहा पाउन अवश्य पढ्नुहोला

अब नागरिक एपबाटै बैंक खाता खोल्न सकिने भएको छ । सरकारले आइतबारदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको नागरिक एपबाट क्यूआर स्क्यान गरेकै भरमा बैंक खाता खोल्न सकिने भएको हो ।

प्रधानमन्त्रीले नागरिक एपबाट नेपाल बैंकको खाता खोलेर यसको सुरूवात गरे । यो सेवा हाललाई राष्ट्रिय वाणिज्य बैंकका अतिरिक्त सिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ ।

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको नागरिक एपको यो सुविधाले बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुनेछैन ।

नागरिक एपबाट कसरी खोल्ने बैंक खाता ?

१. यसका लागि तपाईंसँग आफ्नो नागरिक एप रहेको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरुरी छ । त्यसपछि दुवै डिभाइसमा डेटा वा इन्टरनेट भएको निश्चित गर्नुहोस् ।

२. अब कम्प्युटर वा अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्न चाहेको हो, उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

३. त्यहाँबाट नागरिक एपहुँदै अगाडि बढ्नुहोस् । त्यहाँ एउटा क्यूआर कोड देखिन्छ ।

४. अब आफ्नो मोबाइलमा रहेको नागरिक एपमा जानुहोस् र माथि दायाँ कुनामा रहेको क्यूआर कोड स्क्यानर खोल्नुहोस् ।

५. त्यसपछि नागरिक एपलाई क्यामेराको पहुँच दिनुहोस् । यति गरेसँगै नागरिक एपमा क्यामेरा खुल्छ ।

६. अब कम्प्युटर वा अर्को मोबाइलमा देखिएको क्यूआर कोड स्क्यान गर्नुहोस् । त्यस लगत्तै बैंकले तपाईंको नागरिक एपमा रहेका कुन कुन जानकारी प्राप्त गर्न खोजिरहेको हो भन्ने देखिन्छ ।

७. त्यसपछी ‘कन्फर्म’ गर्नुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा रहेका तपाईंका    प्रमाणीत विवरण बैंकको फर्ममा स्वतः भरिएर आउँछन् ।

८. सबै विवरण राम्रोसँग हेर्नुहोस् । खाली भएको स्थान भर्नुहोस् र ‘प्रोसिडमा क्लिक गरेर अगाडि    बढ्नुहोस् । त्यसपछि बैंकले मागेका बाँकी विवरण भर्दै सबै चरण पुरा गर्नुहोस् ।

९. यति गरेसँगै तपाईंको बैंक खाता तयार हुन्छ । जुन तपाईंले सम्बन्धित बैंकबाट प्राप्त गर्न           सक्नुहुनेछ ।

१०. नागरिक एपबाट खाता खोल्न मात्रै होइन, बैंक खाताको केवाईसी समेत अपडेट गर्न सकिन्छ । यसका लागि सम्बन्धित बैंकको वेबसाइटमा रहेको ‘केवाईसी भेरिफिकेसन’ मा जानुहोस् ।

११. त्यसमा गइसकेपछि नागरिक एपको विकल्प हुँदै अघिकै प्रक्रिया पुरा गर्नुहोस् ।

१९ वैशाख २०७८, आइतवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु