नेपालमा कोरोनाको तेस्रो लहरको खतरा, बालबालिकालाई संक्रमित पार्नसक्ने प्रजाति पुष्टि

डेल्टासँँगै डेल्टा प्लस सक्रिय

काठमाडौं, १२ साउन । बालबालिकालगायत सबै उमेर समूहलाई संक्रमित पार्न सक्ने कोरोना भाइरसको प्रजाति नेपालमा देखापरेको छ । आज स्वास्थ्य मन्त्रालयले बढी संक्रामक तथा सबै उमेर समूहकालाई असर पार्न सक्ने प्रजाति भेटिएको भन्दै सचेत हुन भनेको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समिर कुमार अधिकारीले विज्ञप्तिमार्फत् डेल्टा भेरियन्ट, कप्पा भेरियन्ट र अल्फा भेरियन्ट गरी तीनवटा प्रजातिका कोरोना भाइरस भेटिएको उल्लेख गरेका छन् । संक्रमणको जोखिम बढिरहेको भन्दै सम्भावित तेस्रो लहरको खतरा औल्याएका छन् ।

स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न अनुरोध समेत गरेको छ ।

किन बढ्यो संक्रमण ?

पहिलो लहरमा लकडाउन खोलेको झण्डै तीन साताको अवधिमै संक्रमण बढेको थियो । दोस्रो लहरमा पनि संक्रमण वृद्धिको ट्रेन पहिलो लहरमा जस्तै छ । ७ साउनयता क्रमशः निषेधाज्ञा खुकुलो बनाइएको छ र, पछिल्ला दिनमा राजनीतिक गतिविधिसमेत बढेको छ ।

पहिलेभन्दा संक्रामक रहेको डेल्टा भेरियन्ट समुदायमै रहिरहेको अवस्थामा निषेधाज्ञा खुकुलो बन्दा संक्रमण बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बास्तोला बताउँछन् । ‘निषेधाज्ञा खुकुलो बन्दै जाँदा धेरै मानिस बाहिर निस्किए । तर उनीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरेनन् । जसले गर्दा संक्रमण बढेको देखिन्छ,’ डा। बास्तोलाले भने ।

खोप लगाउने क्रममा खोप केन्द्रहरुमा भीडभाड बढ्न जाँदा खोप लगाएका केही व्यक्तिहरुमा पनि संक्रमण देखिएको उनले बताए ।

पहिलो लहरमा लकडाउन खुलेपछि मानिसले जे–जे गल्ती गरे अहिले पनि त्यही गल्ती दोहोर्‍याउँदा संक्रमण बढ्नुको अर्को कारण रहेको उनको भनाइ छ । पछिल्लो समय तुलनात्मक रुपमा अस्पतालहरुमा संक्रमितको संख्या समेत बढेको डा। बास्तोलाले बताए ।

संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्यको मापदण्ड पालनामा लापरवाही भएका कारण संक्रमण बढेको बताए । ‘संक्रमण दर उच्च नै थियो । हरेक क्षेत्रमा निषेधाज्ञा खुकुलो पार्दै लैजाँदा भीडभाड पनि बढ्न गयो । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही हुन गयो । जसले गर्दा संक्रमण बढेको देखिन्छ’ डा। पुनले भने ।

संक्रमण बढ्नुमा राजनीतिक दल लगायत विद्यार्थी संघ–संगठन पनि उत्तिकै दोषी रहेको उनको भनाइ छ । उनीहरुले सडकमा भीडभाड जम्मा गरी नारा–जुलुस गरेका कारण संक्रमण बढेको हुन सक्छ ।

यसैगरी विदेश जाने नागरिक, क्याम्पस स्तरको परीक्षामा सहभागी विद्यार्थीहरुले वाध्यकारी रुपमा परीक्षण गरेका कारण पनि संक्रमण बढेको हुन सक्ने डा। पुनको भनाइ छ । डेल्टा र डेल्टा प्लस भेरियन्ट बढी संक्रामक रहेकाले यसअघि संक्रमण नभएका व्यक्तिहरु नै पछिल्लो समय संक्रमित हुने गरेको पाइएको उनको भनाइ छ ।

दोस्रो लहरमा संक्रमण उच्च रहेकै अवस्थामा लामो समयदेखि संक्रमण स्थिर रहिरहेको अवस्थामा अर्को संक्रामक नयाँ भेरियन्ट देखिए यसले तेस्रो लहरको जोखिम निम्त्याउने खतरा हुने उनले बताए ।

डेल्टासँँगै डेल्टा प्लस सक्रिय

मन्त्रालयका अनुसार अहिले डेल्टा भेरियल्ट र यसको म्युटेन्ट डेल्टा प्लस सक्रिय देखिएको छ । देशभरबाट संकलन गरिएको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि ३० असारमा भारत पठाइएको थियो ।

सबै नमुनामा डेल्टा भेरियन्ट पाइएको छ । त्यसमध्ये ३ वटामा डेल्टा प्लस म्युटेन्ट पाइएको छ । हालसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियल्ट भेटिएको छ, जुन बढी संक्रामक मानिन्छ । मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सम्भावित तेस्रो तहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत आग्रह गरेको छ ।

१२ साउन २०७८, मंगलवार २२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु