झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल नभएको सचिवालयको भनाई

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नभएको सचिवालयले स्पष्ट पारेको छ ।

थप उपचारको लागि बुधवार नेता खनाललाई दिल्ली लगिएको र एपोलो अस्पतालमा उपचार थालिएको छ । त्यससँगै नेता खनालको स्वास्थ्य अवस्था जटिल रहेको भन्ने टिका-टिप्पणीकाबीच सचिवालयले खनालको स्वास्थ्य अवस्था जोखिमपूर्ण नभएको स्पष्ट पारेको हो ।

नेता खनालको स्वास्थ्यमा समस्या आएसँगै सोमवार नर्भिक अस्पतालमा भर्ना गरि उपचार थालिएको थियो । उनलाई थप उपचारको लागि दिल्ली लगिने परिवारको आग्रहपछि बुधवार दिउँसो नेपाल एयरलाइन्सको विमानमार्फत् दिल्ली लगिएको छ ।

लामो समयदेखि निमोनियाको बिरामी रहेका नेता खनालको फोक्सोमा पानी जमेको, रगत र पिसाबमा इन्फेक्सन लगायतका समस्या रहेको थियो ।

नेता खनालको सचिवालयका सदस्य कृष्ण भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई ज्वरो आएको कारण गत सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो।

अस्पतालमा भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि हिजो नै वँहालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट दिल्ली लगि अपोलो अस्पतालमा भर्ना गरिएको छ।

हिजो बाट नै वहाँलाई उपचार थालिएको छ। बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं। यसैबीच वहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।’

३ असार २०७८, बिहीवार १२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु