काठमाडौंमा मात्रै १५ हजार सक्रिय संक्रमित, यस्तो छ देशको अवस्था (तथ्यांक)

मनाङ एक्लो रह्यो सक्रिय संक्रमित नरहेको जिल्ला

देशभर ३४ हजार ९०५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहँदा काठमाडौंमा मात्रै १५ हजार १ जना रहेको स्वास्थ्य मन्त्रालयको ताजा तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४५ हजार २१६ जना निको भएपछि सक्रिय संक्रमितको संख्या १५ हजार १ रहेको हो । यस्तै काठमाडौंमा हालसम्म २६२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै भक्तपुरमा १ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म भक्तपुरमा ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ५ हजार ४२ जना निको भएका छन् । यस्तै ६९ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी ललितपुरमा हालसम्म ९ हजार ८५० जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ५५८ जना निको र २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ६६ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५७० महिला र ७६८ पुरुष गरी १३९८ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल मनाङबाहेक देशका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यसमा पनि उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपुर, दाङ र रुपन्देहीमा ५०० बडी सक्रिय संक्रमित रहेका छन् ।

मनाङमा यसअघि संक्रमित रहेपनि ती सबै संक्रमणमुक्त भएपनि देशभरको एक्लो संक्रमित नरहेको जिल्ला बनेको हो ।

२४ घण्टामा २९०९ संक्रमित थपिए

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएको स्पनि मन्त्रालयले जानकारी दिएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।

यसैबीच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

२२ कात्तिक २०७७, शनिवार ०७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु