डा.केसीलाई सास फेर्न गाह्रो, अक्सिजन बढाइयो

बिहीबार दुई पटक गरेर आठ घण्टासम्म भएको छलफलमा सहमति नजुटेपछि प्रा। डा। गोविन्द केसीका मागको सम्बन्धमा सरकारी टोली र केसीका प्रतिनिधिबीच शुक्रबार बिहान पुनः वार्ता हुँदैछ।

२६ दिनदेखि अनशनमा रहेका डा। केसीका माग सम्बोधन गर्नका निम्ति सरकारले बिहीबारबाट औपचारिक रुपमा वार्ता थालेको हो।

सरकारले बुधबार वार्ता टोली गठन गरेलगत्तै केसी पक्षले सरकारसँग वार्ता गर्न समिति गठन गरेको थियो। दुई चरण गरेर आठ घण्टासम्म भएको छलफल सकारात्मक भए पनि थप गृहकार्य आवश्यक भएको भन्दै शुक्रबार बिहान बस्नेगरी बिहीबार राति वार्ता टुंगिएको हो।

बिहीबार बिहान साढे १० बजे भएको वार्ता दिउँसो ३ बजेसम्म चलेको थियो। पुनः साँझ ५ बजे सुरु भएको वार्ता राति ९ बजेसम्म चलेको थियो। ‘वार्ता सकारात्मक भएको छ’, वार्ता टोलीका एक सदस्यले भने, ‘थप गृहकार्य गर्नुपर्ने भएकाले भोलि बिहानसम्मका लागि छलफल स्थगित गरेका छौँ।’ शुक्रबार बिहान छलफल हुने बताइएको भए पनि समय भने तोकिएको छैन।

सरकारी वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा सह–सचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा सदस्य छन्।

डा।केसीका तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा। अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएको हो। डा। केसी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

डा। केसीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको बताएका छन् । सामान्य अक्सिजन र स्लाइन मात्र लिएका केसीलाई सास फेर्न गाह्रो भएपछि बिहीबार साँझबाट अक्सिजनको मात्र पठाइएको छ ।

केसीको उपचारमा संलग्न चिकित्सक तोसिमा कार्कीका अनुसार बिहीबार साँझ केसीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाइएको हो । अनशन लम्बिदै जाँदा केसीलाई कतिबेला के हुन्छ भनेर भन्नै नसक्ने आवस्था आएको चिकित्सकको भनाइ छ । उनलाई तत्काल आईसीयूमा लानुपर्ने अवास्था भए पनि उनले उपचार स्वीकार गरेका छैनन्

२३ असोज २०७७, शुक्रवार ०६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु