मृत्युको मुखमा पुगे डा. केसी, बीपी ७०/५० मा झर्‍यो

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

केसीका सहयोगी प्रितम सुवेदीका अनुसार बुधबार केसीको ब्लड प्रेसर बीपी घटेर ७०/५० मा पुगेको हो । अनशन लम्बिदै जाँदा केसीको मुटुको चालमा गम्भीर समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार उनलाई कतिबेला के हुन्छ भनेर भन्नै नसक्ने अवस्था रहेको छ । स्वास्थ्य गम्भीर बन्दा पनि डा= केसीले उपचार लिन मानेका छैनन् ।

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।

नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

सरकारले कोरोना भाइरसको समयमा अनशन अन्त्य गर्न अनुरोध गरेको छ ।

डा. केसीले भने औपचारिक वार्ता टोली गठन गरेर सरकारले मागको सुनुवाइ गर्नुपर्ने अडान लिएका छन् ।

अनशनको २३ औं दिनमा बुधबार पहिलो पटक सरकारी टोली केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो । शिक्षा सचिव गोपीनाथ मैनाली दुई सहयोगीका साथ केसी भेट्न अनशनस्थल पुगेको हो ।

टोलीले अनशन अन्त्य गर्न अनुरोध गर्दा डा. केसीले त्यसका लागि नआउनू भन्दै पठाइ दिएका थिए ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले डा. केसीलाई आइसीयूमा राख्नुपर्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

 

२१ असोज २०७७, बुधवार १६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु