कोरोना खोप कहिलेसम्म आउला र पैसा कति पर्ला ?
कोरोना संक्रमणले संसारलाई नै अत्त्याइरहेको बेलामा यसविरुद्धको खोप कहिले आइपुग्ला भनी मानिसहरू प्रतीक्षा गरिरहेका छन् ।
अगस्ट ११ मा रुसले कोभिड–१९ विरुद्धको पहिलो खोप दर्ता गरेको थियो । त्यसलाई स्पुतनिक भी नाम दिइएको छ । खोपले शरीरको रोगप्रतिरोधक क्षमतालाई उत्तेजित गरेको भनी बेलायतको सम्मानित मेडिकल जर्नल द लान्सेटले लेखेको छ ।
संसारका धेरै ठाउँमा कोरोनाविरुद्धको खोप बनाउने काम जारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार, ३४ वटा कम्पनीहरूले कोरोनाको खोप बनाइरहेका छन् र सातवटाको क्लिनिकल ट्रायलको तेस्रो चरण चलिरहेको छ ।
थप १४२ कम्पनीले बनाएको खोप प्रिक्लिनिकल चरणमा रहेको संगठनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनकी चीफ साइन्टिस्ट सौम्या स्वामीनाथनका अनुसार, अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप अहिलेसम्मको सबभन्दा उन्नत खोप हो । यसको उत्पादन एस्ट्राजेनेका कम्पनीले गरिरहेको छ ।
विज्ञहरूका अनुसार, सन् २०२१ को मध्यसम्ममा खोप उपलब्ध हुनेछ । तर विज्ञहरूका अनुसार, कोरोनाभाइरस परिवारका चार भाइरस पहिलेदेखि नै मानिसमा छन् र यसको बचाउका लागि कुनै पनि खोप बन्न सकेको छैन ।
तर कोरोनाको खोप बनेको खबर आइरहँदा वैज्ञानिक र सामान्य मानिसले खोप केही महिनामा आउने आशा गरेका छन् । तर मानिसलाई खोपको मूल्यको पीर छ । अनि वैज्ञानिकहरू चाहिँ कोरोना भगाउनका लागि खोप कतिपटक लगाउपर्ने हो भनी चिन्ता गर्दैछन् ।
अक्सफोर्ड विश्वविद्यालयको खोप बनाइरहेको कम्पनी एस्ट्राजेनेकाले कम मूल्यमा कोरोना खोप उपलब्ध गराउने र फाइदा कमाउने उद्देश्य नरहेको जनाएको छ ।
दक्षिण अमेरिकामा खोपको मूल्य प्रति डोज ४ डलर पर्ने आस्ट्राजेनेकाका मेक्सिको प्रतिनिधिले बताएका छन् ।
भारतमा यस खोपको उत्पादनमा लागेको सिरम इन्स्टिच्युटले भारत तथा विकासशील देशहरूका लागि यसको मूल्य लगभग ३ डलर पर्ने बताएको छ । त्यो भनेको लगभग ३५० रुपैयाँ हो ।
अस्ट्रेलियाले पनि आस्ट्राजेनेकासँग सम्झौता गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले सबै नागरिकलाई कोरोनाको खोप सित्तैमा दिने बताएका छन् । यसका लागि सरकारले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने विषयमा केही खुलाइएको छ ।
फ्रान्समा सनोफी कम्पनीका प्रमुख ओलिभियर बोगिलोटले कोभिड–१९ खोपको मूल्य प्रति डोज १० युरोभन्दा कम पर्ने सम्भावना रहेको बताए ।
संसारभरिका औषधि कम्पनी र सरकारी एजेन्सीहरू महामारीसँग लड्न र खोप विकसित गर्ने दौडमा छन् ।
चिनियाँ औषधि कम्पनी साइनोफर्मका अध्यक्ष लिऊ जिंगजेनले आफूहरूको खोपको क्लिनिकल ट्रायलको तेस्रो चरण चलिरहेको बताएका छन् ।
बजारमा खोप ल्याएपछि यसको मूल्य दुई डोजको एक हजार चिनियाँ युआनभन्दा कम हुनेछ । त्यो भनेको १६ हजार जति पर्छ । तर स्वास्थ्यकर्मी र विद्यार्थीहरूलाई खोपको डोज सित्तैमा दिनुपर्ने जानकारहरू बताउँछन् ।
१ असोज २०७७, बिहीवार २३:२७ बजे प्रकाशित