दाङमा एक साता लकडाउन बढाउने निर्णय

दाङमा आइतबारदेखि एक साता लकडाउन हुने भएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले भदौ १४ गते राति १२ बजेदेखि २१ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधि बढाउन सकिने निर्णय भएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
लकडाउन अवधिभर अत्यावश्यक सवारीसाधन बाहेक अन्य यातायात, उद्योग, कलकारखाना, बैंक, वित्तीय संस्था, होटेल, रेस्टुरेन्ट, व्यवसाय, संघसंस्थाका कार्यालय बन्द हुनेछन् । सरकारी कार्यालय थोरै कर्मचारीबाट मात्रै सञ्चालनको व्यवस्था मिलाइने उनले बताए ।
लकडाउन अवधिमा नागरिकहरु पनि अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको रिजालले बताए । जिल्लामा बिहीबारदेखि यातायात साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
समुदायमा पीसीआर परीक्षणको दायरा बढाउने निर्णय पनि भएको रिजालले जानकारी दिए ।
जिल्लामा हालसम्म ७ सय ४८ जना संक्रमित रहेको र तीमध्ये ६ सय ८८ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।
अहिले ६० जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिए । पीसीआर परीक्षणको क्रममा रहेका ३५ जना विभिन्न क्वारेन्टाइनमा रहेको चन्दले बताए ।
१२ भदौ २०७७, शुक्रवार १७:१७ बजे प्रकाशित