शिव शंकरद्धारा गाईजात्रे झटारो ‘ओम बकम्फुसाय नम’ सार्वजनिक (भिडियो सहित)
![image image](https://janadeshkhabar.com/wp-content/uploads/2021/07/bakamfusae-nama.jpg)
१४ साउन, काठमाडौं । आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘बकम्फुसाय नमः’ ल्याएका छन् ।
गाइजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलावा दमन रुपाखेती, शशीविक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, वेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंहलगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् ।
प्यारोडी गीतमा रिजाल तथा शंकर कार्कीको शब्द र स्वर शशीविक्रम थापा तथा राधिका हमालले दिएका छन् ।
देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘बकम्फुसाय नमः’ ल्याएका हुन् । रिजालको यो पटकको गाइजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसनसमेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।
प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । जुन ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘बकम्फुसाय नमः’ २० औं कोसेली हो । गतवर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।
हास्य कलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए । रिजालले ‘हुकुम बक्सियोस’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् ।
१४ साउन २०७८, बिहीवार १३:१५ बजे प्रकाशित