चलचित्र निर्देशक छेतन गुरुङको निधन

चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ ।

गुरुङको आज बिहान २ बजे राजधानीको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए ।

४२ बर्षका गुरूङ लिभर समस्याका कारण बिरामी भएका थिए । बिरामी भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर गुरुङ नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका थिए ।

उनले सन् २०१५ मा चलचित्र ‘आभाष’ का लागि गीत लेख्नुका साथै एउटा गीतमा संगीतसमेत दिएका थिए ।

गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका छन भने डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए ।

गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनका लागि तयारी अवस्थामा छ ।

पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए ।

गुरुङ, डेब्यु चलचित्र नोभेम्बर रेनबाटै उत्कृष्ट लेखकका रुपमा चिनिएका थिए ।

उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए ।

२४ भदौ २०७७, बुधवार १०:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु