‘साथी तिमी मेरो’को छायाकंन बेलायतमा सुरु
 
			गीतकार मुकेश राईको ‘साथी तिमी मेरो’ गीतको म्युजिक भिडियो बेलायतमा तयार गरिँदैछ ।
‘मनोकांक्षा’ भाग २ मा समाविष्ट यो गीतको भिडियो छिट्टै बजारमा ल्याउने तयारी गरेको पुप्रण प्रोडक्सन हाउस यूकेले जनाएको छ ।
यस भिडियोमा मिसेस नेपाल यूके २०१८ की सेकेन्ड रनरअप सविना श्रेष्ठसहित सञ्जय कँडेल, निरु कोइराला र रिना भण्डारीले अभिनय गर्नेछन् ।
यसको निर्देशन बेलायतमै रहँदै आएका प्रभु गुरुङले गर्नेछन् ।
उनले झन्डै दुई दर्जन नेपाली र गुरुङ भाषाका गीतको निर्देशनका साथै कोरियोग्राफी गरेका छन् ।
उनलाई क्यामेरामा सुमन श्रेष्ठ र अनुराग श्रेष्ठले साथ दिनेछन् ।
मेलिना राई र ताराप्रकाश लिम्बूको स्वर रहेको यो गीतलाई ताराप्रकाशले संगीत भरेका हुन् । संगीत संयोजन चन्द्र चौधरीले गरेका हुन् ।
कोरोना महामारीका बेला भिडियोमार्फत दर्शक/श्रोतालाई नयाँ सिर्जना दिन पाउने कुराले उत्साही बनाएको गीतकार राईले बताए ।
६ भदौ २०७७, शनिवार १३:५२ बजे प्रकाशित
 
						 




