त्रिविको परीक्षा दशैपछि मात्र गर्ने निर्णय

त्रिभुवन विश्वविद्यालय त्रिविले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ। नेपालमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन नगर्ने निर्णय भएको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्‌।

‘नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ,’ उनले भने, ‘तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नै छैन, ३५ दिनको समय निकालेर सूचना जारी गर्नुपर्छ। अब त्यो समय हामीसँग नै छैन, कसरी परीक्षा गराउने भन्ने विषयमा निर्णय नै हुन सकेको छैन, त्यसैले दशैं अगाडि परीक्षा गराउने कुनै सम्भावना नै छैन।’

उनले यो संकटको बेला विद्यार्थीलाई तनावमा नराख्ने बताए।

उनले भने, ‘परीक्षा भनेको खेल खेलेजस्तो होइन, यो संवेदनशील विषय हो, क्षणिक निर्णयले हुँदैन, यस्तो समयमा विद्यार्थीलाई प्रेसर दिन मिल्दैन।’ परीक्षाको विषयमा बाहिर गलत सन्देश फैलाएर झनै विद्यार्थीलाई चिन्तित बनाएको भन्दै उनले गुनासो पोखे।

अहिले कुन विधिबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा भने छलफल भैरहेको उनले जानकारी दिए।

११ भदौ २०७७, बिहीवार २०:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु