अर्थमन्त्री खतिवडाको बहिर्गमन भएको सातामा १२ अर्बको सेयर कारोबार

गत साता सेयर बजारमा करिब १२ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो साताको तुलनामा यो करिब २२ प्रतिशतको वृद्धि हो । सार्वजनिक बिदा परेकाले सातामा चार दिन मात्र सेयर कारोबार भएको थियो । सो अवधिमा ११ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

दैनिक कारोबार रकम पनि बढेर औसत २ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो साताको तुलनामा दैनिक कारोबार दैनिक रकम झन्डै ५३ प्रतिशत बढेको हो । सातामा एक लाख ६० हजार कारोबारबाट १ सय ९३ कम्पनीका ३ करोड ४ लाख ६० हजार कित्ता सेयर किनबेच भए ।

दुई सातादेखि हुँदै आएको निषेधाज्ञा अवधिमा पनि सेयर बजार खुला छ । यो अवधिमा प्रायः दिन बजार बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर बढ्दो छ । हरेक दिनजसो कारोबार रकमले सपोर्ट गरिरहनु नेप्सेको आगामी यात्राका लागि सकारात्मक संकेत भएको एक सेयर ब्रोकरले बताए । ‘आउँदो साता पनि सेयर बजारमा वृद्धिको बलियो सम्भावना छ,’ ती अधिकारीले भने, ‘गत साताको कारोबार नेप्सेको वृद्धिले यही संकेत गर्छ ।’

अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनले पनि सेयर बजारमा सकारात्मक प्रभाव पार्ने एक सेयर बजारका जानकारको भनाइ छ ।

 

२१ भदौ २०७७, आइतवार ०९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु