अर्थमन्त्रीबाट युवराज हट्ने भएपछि जलविद्युत्को शेयरमा ह्वात्तै बढ्यो आकर्षण

बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो ।
१ महीनायता जलविद्युत् कम्पनीहरूको शेयर मूल्य औसतमा १३ दशमलव ४३ प्रतिशतले बढेको छ ।
साउन मसान्तको तुलनामा भदौ १८ गतेसम्ममा सबै जलविद्युत् कम्पनीहरूको शेयर मूल्य बढेको छ । भदौ १८ गते जलविद्युत् कम्पनीहरूको शेयरप्रति लगानीकर्ताहरूको आकर्षण उच्च देखियो । यस दिन कारोबारमा आएका १२ समूहमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव २६ प्रतिशतले बढेको थियो ।
जलविद्युत् कम्पनीको शेयरको मूल्य निकै तल आएकाले सस्तो शेयर किन्न लगानीकर्ता आकर्षित भएका हुन् । बैंकको ब्याजदर घटेपछि त्यसको असर शेयरबजारमा देखिन थालेको छ ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष एवम् ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले जलविद्युत्को प्रतिफल बैंकको ब्याजदरसँग अन्तरसम्बद्ध हुने भएकाले ब्याजदर घटेसँगै प्रतिफल बढ्ने अपेक्षामा लगानीकर्ता आकर्षित भएको बताए ।
बैंकसँग कर्जा लिएर आयोजना निर्माण गरेको जलविद्युत् कम्पनीहरूको ब्याजदर कम भएसँगै ब्याज खर्च कम हुने र विद्युत् उत्पादन आम्दानी निश्चित हुने हँुदा नाफा बढ्ने रेग्मीको भनाइ छ ।
यो कुरा विद्युत् विक्री शुरू गरिसकेका कम्पनीहरूको हकमा लागू हुने जानकारी दिँदै रेग्मीले पछिल्लो समय जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्नुको एक मात्र कारण कम ब्याजदर रहेको स्पष्ट पारे ।
दोस्रो बजारमा कम मूल्य भएका जलविद्युत् कम्पनीहरूले यो वर्ष अन्य क्षेत्रका कम्पनीहरूको तुलनामा बढी लाभांश दिने अपेक्षा लगानीकर्ताहरूको देखिन्छ । लगानीकर्ता केशव कोइरालाले जलविद्युत् कम्पनीहरूको अहिलेको मूल्यमा गुमाउन केही बाँकी नभएको तर कमाउने सम्भावना शतप्रतिशत रहेको बताउँछन् । महँगो ब्याजदरमा थलिएका जलविद्युत् कम्पनीहरू ब्याजदर तल झरेसँगै नाफा राम्रो गर्न थालेको कोइरालाको भनाइ छ ।
५ प्रतिशत लाभांश दिने कम्पनीको शेयर हामी ५ सय रुपैयाँमा किन्न तयार छौं भने ५ प्रतिशत बढी लाभांश दिने जलविद्युत् कम्पनीको शेयर १ सय रुपैयाँमै किन्न डराउनुपर्ने अवस्था नभएको कोइराला बताउँछन् । विद्युत् उत्पादन शुरू भइसकेको, अघिल्लो आवको नाफाबाट लाभांश दिन सक्ने, ऋण घटाउँदै ल्याएका र खरीद मूल्यको अनुपातमा बढी प्रतिफल पाउने कम्पनीहरू किन्दा लगानीकर्तालाई घाटा नहुने उनको भनाइ छ ।
जलविद्युत् क्षेत्रका कम्पनीहरूलाई नियमन गर्ने छुट्टै निकाय नहुनु, लाइसेन्स अवधिभन्दा पछिको स्वामित्व सरकारमा हस्तान्तरण हुनु, निर्धारित अवधिभित्र आयोजना सम्पन्न नहुँदा निर्माण लागत वृद्धि हुनु, कयौं वर्षसम्म प्रतिफल दिन नसक्नु जस्ता कारणले धेरै जलविद्युत् कम्पनीहरूको शेयर मूल्य अंकितमूल्य भन्दा तल झरेको थियो । अभैm पनि १२ कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा तल नै रहेको छ ।
अंकित मूल्यभन्दा पनि कम शेयर मूल्य रहेका १२ कम्पनीहरूमा जोशी, रिडी, युनियन, माउन्टेन, घलेम्दी, दिव्येश्वरी, खानीखोला, नेशनल र पञ्चकन्यामाई हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र युनिभर्सल पावर कम्पनी रहेका छन् ।
यी कम्पनीको शेयर मूल्य पनि बढ्दो क्रममै रहेको देखिन्छ । साउन मसान्तसम्म १७ कम्पनीको शेयर मूल्य अंकितमूल्यभन्दा तल रहेकोमा अरुणभ्याली, रैराङ हाइड्रो, वरुण हाइड्रो, छ्याङदी हाइड्रो र हिमाल ऊर्जा विकास कम्पनीको शेयर मूल्य अंकितमूल्यभन्दा माथि पुगेको छ ।
जलविद्युत् कम्पनीमध्ये चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य सबैभन्दा बढी रहेको छ । बुधवार चिलिमे जलविद्युत् कम्पनीको अन्तिम शेयर मूल्य ४३८ रुपैयाँ कायम भएको छ । त्यसपछि बढी मूल्य भएको बुटवल पावरको शेयर मूल्य बिहीवार सबैभन्दा कम ५ दशमलव २८ प्रतिशतले वृद्धि भयो । यस दिन बुटवल पावर कम्पनीको अन्तिम शेयर मूल्य ३८३ रुपैयाँ कायम भयो ।
१९ भदौ २०७७, शुक्रवार ०६:१२ बजे प्रकाशित