चिनी महंगियो, काठमाडौंमा प्रतिकिलोमा ९० रुपैयाँ

१६ साउन, काठमाडौं । व्यापारीहरुको भुलभुलैयामा परेर सरकारले समयमै निर्णय लिन नसक्दा चाडबाडको मुखमा चिनी महंगिएको छ । काठमाडौंमा एक महिना अगाडि ८० रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले ९० रुपैयाँ पुगिसकेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले होलसेलमै चिनीको मूल्य ८० रुपैयाँभन्दा बढी पर्छ । स्वदेशी उत्पादन रित्तिएपछि भारतबाट सस्तोमा आयात गरिएको चिनी उपभोक्ताले महंगो मूल्यमा किनिरहेका छन् ।

खाद्य व्यवस्था र साल्ट ट्रेडिङले पठाएको विवरणअनुसार झण्डै एक हजार मेट्रिक टन चिनी मात्रै मौज्दात रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । जबकी मुलुकभरको चिनीको दैनिक माग नै दुई हजार मेट्रिक टन हो । खाद्य व्यवस्थाले खुद्रामा आफैं चिनी बिक्री गर्छ भने साल्ट ट्रेडिङले थोकमा ।

ठुला खुद्रा बिक्रेताहरुले साल्ट ट्रेडिङबाट झण्डै एक महिनादेखि नै थोकमा चिनी किन्न नपाएको खुद्रा व्यापार संघका महासचिव अमुल काजी तुलाधरले बताए ।

‘भन्सार छुटमा आयात गर्ने र बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी कम्पनीमा चिनी नभएपछि आयातकर्ताले मनपरी मूल्य कायम गरेका छन्, सरकारी अनुगमन पनि छैन,’ तुलाधरले भने । बजारमा सरकारी हस्तक्षेप नभएपछि चाडपर्व नजिकिने समयमा मूल्य आकासिएको उनको भनाइ छ ।

सरकारी कम्पनीजस्तै नेपाली चिनी उत्पादकसँग पनि चिनीको मौज्दात सकिएको छ । नेपाली उद्योगको गोदाममा गत सातासम्म ७ हजार मेट्रिक टन चिनी मौज्दात रहेकोमा त्यो पनि अहिले सकिएको उद्योगीले बताएका छन् ।

‘जम्माजम्मी ७ हजार मेटिक टन चिनी मौज्दात रहेको विवरण गत साता संघमा आएको थियो, तर अहिले त्यो पनि बजारमा पुगिसक्यो, अब हामीसँग चिनी छैन,’ नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले भने ।

चिनीको सम्भावित अभावलाई मध्यनजर गर्दै संघले चिनी आयात गर्न सरकारलाई लिखित निवेदन दिएरै आग्रह गरेको पनि अग्रवालले बताए ।

१६ साउन २०७७, शुक्रवार २०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु