सेनालाई नै पत्र लेख्दै लेखा समितिले भन्यो– फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्नु

संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन गरेको छ ।

यसअघि लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

‘रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन कार्यानवयन नभएपछि नेपाली सेनालाई सिधै पत्र लेखेर ठेक्का प्रक्रिया रोक्न भनेका छौं’ समिति सचिव रोजनाथ पाण्डेले भने ।

चैत १९ गते लेखा समितिले फास्ट ट्र्याकको दोस्रो प्याकेज अन्तर्गतको टनेल र ब्रिजको ठेक्क प्रक्रियाको प्रि–क्वालिफाइड’ मै अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देश गरेको थियो ।

तर, निर्देशन कार्यान्वयन नभएको सचिव पाण्डेले बताए ।

चैत १९ गतेपछि लेखा समितिले बैशाख ६ गते र बैशाख ९ गते लेखा समितिले रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रोक्न भनेको थियो ।

समितिको निर्देशनको वेवास्ता गर्दै बैशाख १२ गते टेण्डर प्रक्रिया अगाडि बढाइएको छ ।

संसदीय समितिको निर्देशन विपरित टेण्डर प्रक्रिया अगाडि बढाइएकाले सिधै नेपाली सेनालाई पत्र लेखिएको पनि सचिव पाण्डेले बताएका छन् ।

मकवानपुरको धोद्रेमा सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी० र लेनडाँडामा घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ कि.मी. गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए ।

तर सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र ‘प्रि–क्वालिफाइड’ ठहर गरेको छ ।

एउटा मात्रै कम्पनीलाई प्रि–क्वालिफाइड ठहर गर्नुको पछाडि अनियमितता भएको हुन सक्ने लेखा समितिको आशंका छ । र यसमा सार्वजनिक खरिद
ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरीद प्रक्रिया सञ्चालन नभएको लेखा समितिको निष्कर्ष छ ।

१६ वैशाख २०७८, बिहीवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु