भक्तपुरका उद्योग स्थानान्तरण गर्न सांसदहरूको प्रतिवद्धता

संसद अन्र्तगतको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भक्तपुर जिल्लामा रहेका विभिन्न उद्योगहरुको अनुगमन गरेको छ ।

समितिका सभापति बिमल श्रीवास्तव नेतृत्वको टोलीले नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर साना औद्योगिक क्षेत्रको प्रदुषण नियन्त्रणका बारेमा छलफल गरेको छ ।

बैठकमा सांसद सुवालले भक्तपुरमा सञ्चालित विभिन्न उद्योगहरुले ध्वनी, धुँवा र रसायन प्रदूषण गरेकाले स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको र उद्योग क्षेत्रभित्र जालसाजी भएको जनताको गुनासो रहेको बताए ।

भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्नेतर्फ आवश्यक पहल गर्नुपर्ने भन्दै सांसद सुवालले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश भएको उजुरीबारे आवश्यक सुनुवाई हुनेमा विश्वास व्यक्त गरे ।

बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य र वर्तमान अवस्थाबारे अवगत गराएका थिए ।

उनले औद्योगिक क्षेत्र वरपर भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, शैक्षिक संस्थाहरु, अस्पताल तथा भक्तपुर दरबार क्षेत्र जोडिएको हुँदा सरकारको प्रतिबद्धताअनुरुप भक्तपुर औद्योगिक क्षेत्रबाट यथाशक्य चाँडो धुवा, ध्वनी र रसायन प्रदुषण फाल्ने उद्योगहरु स्थानान्तरण गर्नुपर्ने बताए ।

उनले कतिपय ठूला उद्योगहरुले नगरपालिकालाई तिर्नु पर्ने कर समेत नतिरी जथाभावी जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कार्य गरिरहेको बताए ।

स्थानीयको माग अनुसार पटक पटक प्रदुषण फाल्ने उद्योगहरु स्थानान्तरणको माग गर्दा पनि सरकारले ध्यान नदिएको गुनासो गरे ।

समितिका सभापति श्रीवास्तवले स्थलगत अध्ययन समितिबाट प्राप्त प्रतिवेदनको आधारमा सरकारलाई आवश्यक निर्देशन दिने बताए । उनले सम्बन्धित सबै निकायहरुमा घच्घच्याउने काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थित तरिकाबाट सञ्चालन भइरहेको छैन” उनले भने, “सबैको संयुक्त प्रयासबाट औद्योगिक क्षेत्र स्थानान्तरणको लागि आवश्यक पहल गर्नुपर्छ ।”

समितिका सदस्य भीमसेनदास प्रधानले मानव बस्तीलाई हानी हुने गरी प्रदुषण फाल्ने उद्योग सञ्चालन गर्न नपाउने उल्लेख गर्दै सरकारको निर्णयअनुरुप काठमाडौं उपत्यकाबाट यस्ता उद्योगहरु स्थानान्तरण गर्नुपर्ने बताए ।

अध्ययन समितिका संयोजक देवेन्द्र पौडेलले भक्तपुरको पहिचान र गौरव गर्न लायक संस्कृति बचाइराख्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भक्तपुरको कला, संस्कृति र सम्पदाहरु बचाइराख्न र स्थानीय पीडित जनताको गुनासो सम्बोधन गर्न समिति प्रतिबद्ध रहेको बताए ।

५ पुस २०७७, आइतवार १५:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु