उद्योगमन्त्री भट्टको अचम्मको दाबी– मूल्यवृद्धि भएकै छैन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७०औँ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको दाबी गरेका हुन् ।

जब कि उपभोक्ताकर्मीहरूले दसैँ नजिकिँदै गर्दा उपभोग्य सामग्रीसहित तरकारीहरूमा मूल्यवृद्धि भएको बताउँदै आएका छन् ।

उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्नलगायत दैनिक रूपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरे ।

तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक–दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टको भनाइ छ ।

उनले भने, ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहीँ पनि समस्या आएको छैन । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला, नत्र खाद्यान्नलगायत दैनिकी वस्तुहरू हुन त्यसमा महँगाई भन्ने छैन । अब एकाध वस्तुमा हुनु स्वाभाविक हो, हिजो पनि हुन्थ्यो ।’

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उनले बताए ।

निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए ।

आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत मन्त्री भट्टको छ ।

कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको दाबी उनले गरे ।

२७ असोज २०७७, मंगलवार १७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु