चीनले बढायो केरुङबाट आउने कन्टेनरको कोटा

चीनले केरुङ नाकाबाट दैनिक रुपमा भित्रिने कन्टेनरको कोटा बढाएको छ । निरन्तरको आग्रह र कुटनीतिक प्रयासपछि चीनको केरुङ भन्सारले दैनिक दोब्बर संख्यामा कन्टेनर पठाउन थालेको हो ।

यसअघि दैनिक ४ वटा कन्टेनरको मात्रै जाँचपास गरिदिने गरेकोमा शुक्रबारदेखि दैनिक ८ वटा कन्टेनरको जाँचपास गरेर नेपालतर्फ पठाउन थालेको छ ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले पहिरोका कारण सडक बन्द १२ दिनदेखि कुनैपनि सामान आउन नसकेकोमा अवरोध खुलेपछि शुक्रबारदेखि सामान आउन थालेको जानकारी दिए ।

उनले अब दैनिक ८ वटा कन्टेनर पठाउने जानकारी आएको समेत बताए ।

चिनियाँ पक्षले नेपाल भित्रिने कन्टेनरको संख्या दोब्बर बनाए पनि त्यो पर्याप्त भने होइन । सामान्य अवस्थामै औसत ३० वटा कन्टेनरहरु नेपाल आउने गर्छन् ।

सुरुमा लकडाउनका कारण महिनौँदेखि अड्किएका र पछिल्लो समय पहिरोका कारण बाटो अवरोध हुँदा थपिएका समेत गरी सयौं कन्टेनरहरु सीमापारि अड्किएका छन् ।

यद्यपि पहिरोको अवरोध खुलेपछि कोटा दोब्बर बनाउनु सकारात्मक रहेको भन्सार प्रमुख खड्का बताउँछन् ।

१२ भदौ २०७७, शुक्रवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु