बजारमा खुलेआम बिक्री भए सेनिटाइजर, कुनै पनि ब्रान्ड दर्ता भएनन्

मुलुकमा कोरोना संकटको मौका छोपेर बजारमा गुणस्तरहीन सेनिटाइजर आउनथालेका छन्।

मानव स्वास्थ्यमा असर गर्ने त्यस्ता सेनिटाइजर कतिपय आयातित छन् भने कति स्वदेशी उत्पादन नै छन्। सरकारी निकायबाट कडाइका साथ परीक्षण र अनुगमन नहुँदा मापदण्डविपरीतका ‘ह्यान्ड सेनिटाइजर बजारमा बिक्रीवितरणमा प्रश्रय पाएका हुन्।

औषधिजन्य उत्पादनको दर्ता र अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभागले बजार अनुगमन र परीक्षण गर्दा मापदण्ड नपुगेका सेनिटाइजर भेट्टिएको जनाएको छ। विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बजारमा रहेका सबै सेनिटाइजर राम्रा छन् भन्न नसकिने बताए।

‘हामीले स्याम्पल ९नमूना० परीक्षण गर्दा केही सेनिटाइजर मापदण्डमा असफल भएका छन्’, ढकालले  भने, ‘त्यसैले बजारमा पाइने सबै सेनिटाइजर ठीक छन् भन्न सकिँदैन।’

गुणस्तरहीन सेनिटाइजरमध्ये अधिकांश विभागमा दर्ता नभएको तथा विभागमा समेत दर्ता नगरी अनुमतिविनै उत्पादन भइरहेको पाइएको उनले बताए।

उनका अनुसार कतिपय विदेशबाट आयात गरेका पनि गुणस्तरहीन भेटिएका छन्। दर्ता भएर अनुमति दिएका अधिकांश सेनिटाइजर भने गुणस्तरीय भएको ढकालले दाबी गरे।

कोरोना भाइरस संक्रमणले सेनिटाइजरको खपत ह्वात्तै बढेपछि यसको सस्तो उत्पादनमा होडबाजी चलेको छ। यसको उत्पादनको मापदण्ड पूरा नगरीकन मिथानोल र अन्य केमिकल मिसाएको पाइएको छ। मिथानोलले मानव स्वास्थ्यमा असर गर्छ।

बजारमा प्रशस्त मात्रमा गुणस्तरहीन सेनिटाइजर भेटिएको औषधि उत्पादनक संघका पूर्वअध्यक्ष दिपक प्रसाद दाहालले पनि बताए। नेपालमा सेनिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने अल्कोहल औषधि व्यवस्था विभागले चिठी लेखेपछि अल्कोहल उद्योगले दिन्छन्।

तर बजारमा भने कतिपय सेनिटाइजर उद्योगले खान अयोग्य गुणस्तरहीन ‘डिम्याचुअर्ड अल्कोहल’ प्रयोग गरिरहेको दाहालको भनाइ छ। जुन उत्पादन ३०÷४० रुपैयाँ लिटरमा उपलब्ध छ। यस्तो कमसल कच्चा पदार्थको प्रयोग गरेर सेनिटाइजर उत्पादन गरिरहेको उनले बताए।

बजारमा सेनिटाइजरको नाममा खान अयोग्य ‘डिम्याचुअर्ड अल्कोहल’ प्रयोग भइरहेको भए पनि अनुगमनमा भने कडाइ गरिएको छैन। विभागले लकडाउनका कारण तीव्र रुपमा अनुगमन र परीक्षण गर्न नसकेको बताएको छ।

‘हामीले परीक्षण गरिरहेका छौँ तर निषेधाज्ञाले गर्दा बाहिर गएर अनुगमन गर्नसक्ने अवस्था छैन’, ढकालले भने, ‘निषेधाज्ञापछि कडाइ गर्छौँ।’

सेनिटाइजर अनुगमनको लागि थप योजना बनाएको उनले बताए। मंगलबारसम्मको निषेधाज्ञापछि त्यसलाई कार्यान्वयन गर्दै कडाइका साथ अनुगमन गर्ने विभागको योजना छ।

विभागले दर्ता नभएकालाई दर्ता हुने समय दिइरहेको छ। अहिलेसम्म ४० वटा सेनिटाइजर उत्पादक दर्ता भइसकेका छन्। तीमध्ये ३० उद्योगले उत्पादन नै सुरु गरिसकेका छन्।

दर्ता भएनन्

नेपाला कोरोना भइरस संक्रमण फैलिएसँगै भारतलगायका मुलुकबाट करोडौका दर्जनौँ सेनिटाइजर आयात भइरहेको भए पनि अहिलेसम्म नियामक निकायमा दर्ता भएका छैनन्।

दर्ता भएर मात्र बिक्रीवितरण गर्नु पर्ने नियम भए पनि विदेशी आयातकर्ताले आनकान गरिरहेका छन्। विभागमा महानिर्देशक ढकालले विदेशबाट आयात हुने कुनै पनि कम्पनी र ब्रान्डका सेनिटाइजर दर्ता नभएको बताए।

‘अहिलेसम्म कुनै पनि विदेशी सेनिटाइजर दर्ता भएको छैन’, ढकालले भने, ‘केहीले निवेदन दिएका छन् तर दर्ता हुनसकेका छैनन्।’

८ भदौ २०७७, सोमवार ०७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु