मुकेशको हत्या आरोपी राजकुमार गुप्तालाई जन्मकैद कि ३ वर्ष जेल !

यस्तो छ ज्यान सम्बन्धी कसूर सजायको व्यवस्था

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ ।

अभियोग ठहर भएमा गुप्तालाई मुलुकी अपराध संहिता २०७४ अनुसार सजाय हुन्छ । तर, उनलाई लागेको अभियोगका सम्बन्धमा प्रहरीले कसरी अनुसन्धान गर्छ, र कुन रुपमा अदालतले पुष्टि गर्छ भन्नेमा निर्भर रहन्छ । कानुन अनुसार हत्या गर्ने वा हत्याको योजना बनाएर घटना घटाउने योजनाकार लाई प्रकृति अनुसार ३ वर्ष जेल सजायदेखि जन्मकैदसम्म हुन सक्छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को भाग–२ मा ज्यान सम्बन्धी बिभिन्न कसूरजन्य कार्यहरुलाई अपराधीकरण गरी गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ ।

यस्तो छ ज्यान सम्बन्धी कसूर सजायको व्यवस्था

१७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुनेः १. कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ ।

(२) उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुनेछ ।

१७८ ज्यान जान सक्ने काम गर्न नहुनेः १ कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कारण हुँदा हुँदै त्यस्तो काम गर्न हुँदैन ।

(२) उपदफा १ बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसूरदारलाई जन्मकैदको सजाय हुनेछ ।

१७९ गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुनेः १ दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा ज्यान लिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँँदेखि एक लाख पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछः–

क कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयम्को शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा,

तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैनः–

(१) कसैले कानूनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसूरदार उत्तेजित हुन गएमा,

(२) कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तोे व्यक्तिले गरेको कामबाट कसैको ज्यान गएकोमा,

(ख) निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाघ्न गई जसको बिरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मरेकोमा,

(ग) एकाएक भएको झगडामा उठेको रीसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा,

तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुुर वा अस्वभाविक तवरबाट काम गरेको हुनु हुँदैन ।

(२) उपदफा १ को खण्ड ख र ग मा जुनसुकै कुरा लेखिएको भए तापनि इवी लिएर वा सोच विचार गरेर ज्यान लिएकोमा सो खण्डहरुमा लेखिएको व्यवस्था लागू हुने छैन ।

१८० मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुनेः दफा १७७, १७८ र १७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कसैलाई मार्ने नियतले वा कुनै व्यक्ति मर्न सक्छ भन्ने जानीजानी वा त्यसको विश्वास गर्नु पर्ने कारण भई कुनै काम गर्दा त्यस्तो व्यक्ति नमरी अर्को व्यक्ति मर्न गएमा निजलाई अवस्था अनुसार दफा १७७, १७८ र १७९ मा लेखिए बमोजिमको सजाय हुनेछ ।

१८१ लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुनेः १ कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन ।

(२) उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँँदेखि एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।

१८२ हेलचक्र्याईं गरी ज्यान मार्न नहुनेः १ दफा १७९ को अवस्थामा बाहेक कसैले हेलचक्र्याइपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न हुँदैन ।

(२) उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३ )उपदफा १ मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१८३ ज्यान मार्ने उद्योग गर्न नहुने ः १ कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन ।

(२) उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।

१८४ आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुनेः १ कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन ।

(२) उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३) उपदफा १ बमोजिमको कसूरबाट त्यस्तो बालबालिका, अशक्त, रोगी वा बृद्ध व्यक्ति मरेको रहेछ भने कसूरदारलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

तर फालिएको, परित्याग गरिएको वा वेवास्ता गरी छाडेको कारणबाट नवजात शिशुको मृत्य भएमा दफा १७७ बमोजिम सजाय हुनेछ ।

१८५ आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेः १ कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।

(२) उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

१८६ क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिम भएको कसूरबाट कसैको जिउ, ज्यान वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा कसूरदारबाट पीडित व्यक्ति र निज नभए निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

१८७ हदम्यादः १ दफा १७७, १७८, १७९, १८०, १८१, १८२ र १८४ को उपदफा ९३० मा रहेको प्रतिबन्धात्क वाक्यांश अन्तर्गतका कसूरमा कसूरदार आफैं साबित भई पोलेकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ । त्यस्तो कसूरमा कर्तव्यको उजुरी परेकोमा अनुसन्धानबाट कर्तव्यवाला यही हो भन्ने पत्ता नलागेकोमा बीस वर्ष पछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई वर्षपछि उजुरी लाग्ने छैन ।

(२) उपदफा १ मा लेखिएदेखि बाहेकका यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

८ दिन पछि जाहेरी दर्ता

पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो ।

तर, बिहीवार पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जाहेरी लिएको छ ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएका थिए ।

झडप भएकै दिन कार्तिक ६ गते प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । राजनीतिक दवावमा गुप्तालाई छाडिएको भन्दै नेकपा पर्साले विरोध गर्दै आएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्वी, सोकदिन मियाँ गद्वी र देवा सहनीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्वसांसद गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहीबार राति नै ‘माथिको आदेश’मा छाडेको थियो ।

यस्तै झडपमा सामान्य घाइते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका थिए । उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ ।

१३ कात्तिक २०७७, बिहीवार २०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु