१ हजार दिने सहमति रहेछ भन्दै वलात्कारीलाई न्यायाधीशले छाडिदिए

रकमको लेनदेनको मौखिक सहमतिपछि करणी कानुनी भाषामा शारीरिक सम्पर्क भएको देखिएको भन्दै जिल्ला अदालत मोरङले बलात्कारका आरोपितलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजी भनिने काजीमान श्रेष्ठलाई धरौटीमा रिहा गरेको हो । आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको ‘तत्काल कसुरदार नदेखिएको’ अवस्थामा प्रयोग हुने दफा उद्धृत गरिएको छ ।

सिजुवा सांकेतिक नाम दिइएकी विवाहित दलित युवती गत भदौ २३ गते घरनजिकै घाँस काट्न गएकी थिइन् । सिजुवाको जाहेरीअनुसार छिमेकी
काजीमान श्रेष्ठले उनलाई घरदेखि टाढा एकान्त बाँसघारीमा लुकेर ढुकेर बसेका रहेछन् । काजीमानले उनलाई बोलाए । उनले वास्ता गरिनन् । काजीमानले पछ्याए ।

‘पछाडिबाट मलाई समाती तानेर बाँसघारीमा लगे,’ जाहेरीमा पीडित युवतीले भनेकी छन्, ‘बोलेमा काटेर मारिदिन्छु भनी डरधम्की देखाए ।’ त्यसपछि आफूमाथि जबर्जस्ती करणी भएको पीडितको जाहेरीमा उल्लेख छ ।

काजीमानको दाबी ठीक उल्टो छ । उनले सिजुवा र आफू छिमेकी रहेको बताउँदै पहिलेदेखि उनले आफूलाई पछ्याइरहेको दाबी गरेका छन् । घटनाका दिन आफूसँग हजार रुपैयाँ मागेको र आफूले दिन इन्कार गरेको काजीमानको दाबी छ । ‘करणी यौनसम्पर्क गर्न दिन्छु भनेकाले मैले खेतनजिकैको बाँसघारीमा दुवैको मञ्जुरीमा करणी गरेको हुँ,’ काजीमानले प्रहरीमा गरेको बयान जिल्ला अदालतमा पनि दोहोर्‍याएका छन् । अदालतमा उनले घटना स्विकार्दै ‘सहमतिमा सम्पर्क भएको’ दाबी गरेका छन् ।

जिल्ला अदालतको आदेशमा पीडितले हजार रुपैयाँ मागेको र त्यसबापत यौनसम्पर्क गर्न दिन्छु भनेकाले दुवै जनाको सहमतिमा खेतनजिकैको बाँसघारीमा सम्पर्क गरेको भन्ने काजीमानको दाबीलाई न्यायाधीश कोइरालाले महत्त्वका साथ उद्धृत गरेका छन् ।कान्तिपुरमा खबर छ ।

२३ असोज २०७७, शुक्रवार ०८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु