संगिता बलात्कार र आत्महत्या गर्ने दुई आरोपी पक्राउ

सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मा १७ वर्षीया एक किशोरीमाथी भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा सप्तरीका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।

 

बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने १८ वर्षीय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षीय रंजित भन्ने सरोज कुमार मण्डललाई बिहीबार मध्य राति भारतीय सीमासँग जोडिएको छिमेकी गाउँपालिका बलान बिहुलबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले दिएको जानकारी अनुसार फरार रहेका चार जना मध्येका दुई मुख्य आरोपीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

 

फरार दुई जनाको भने खोजी कार्य तिब्र बनाइएको उनको भनाई छ । गत भदौं २९ गते धान खेतमा पानीको अवस्था हेर्न गएकी १७ वर्षीया संगिता मण्डलमाथि गाउँकै चार जनाले सामूहिक बलात्कार गरेको पीडित बालिकाकी आमा रधियादेबी मण्डलले बताएपछि गाउँमा भदौं ३० गते पंचायति बसेको थियो ।

 

पंचायतिमा गाउँका केही अगुवाहरुले ५५ हजार रुपैयाँ नगद लिएर घटना मिलापत्र गर्न दबाब दिएपछि त्यही पीडाबाट बिक्षिप्त बनेकी संगिता त्यसको भोलिपल्ट घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । प्रहरीले पंचायतिमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागि स्थानिय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना पंचलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

 

प्रहरीले अनुसन्धानको क्रममा उक्त अपराधिक घटनामा आरोपित चार जनामध्ये दुई जना मुख्य अपराधि र दुई जना सहयोगिको रुपमा तथ्य फेला परेको र दुबै मुख्य अपराधि पक्राउ गरिसकिएको डिएसपी भारतीले जानकारी दिए । यता संगिताको शवको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पोष्टमार्टम सकिएपनि रिपोर्ट भने अझै प्राप्त भइनसकेको डिएसपी भारतीले जानकारी दिएका छन् ।

२ असोज २०७७, शुक्रवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु