२६ किलो अफिमसहित पाँचजना पक्राउ

जाजरकोट र रुकुम पश्चिम बाट २६ किलो अवैध लागुऔषध अफिमसहित पाँचजना पक्राउ परेका छन् ।
जाजरकोट, नलगाड नगरपालिका २, छेप्कास्थित सडकबाट १० किलो अवैध लागुऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका ३ का ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ का ५५ वर्षीय हरिचन्द्र डाँगी छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अफिमसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै रुकुम पश्चिम, आठबिसकोट नगरपालिका ५ जलिगार्डबाट १६ किलो अवैध लागुऔषध अफिमसहित जाजरकोट नलगाड नगरपालिका ९ का ३७ वर्षीय प्रेमबहादुर सिंहलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
२१ भदौ २०७७, आइतवार १३:०० बजे प्रकाशित