लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्काविरुद्ध तीन मुद्दा: २४ दिनदेखि हिरासतमा
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का २४ दिनदेखि हिरासतमा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापले साउन ३० गते मध्यान्ह मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरेको थियो। उनी पक्राउ परे लगत्तै थप दुई वटा मुद्दा दर्ता भएका थिए।
खड्कामाथि माथि परेको तीन वटै मुद्दाको प्रहरीले आवश्यक अनुसन्धान र माग दावीसहित सकेर जिल्ला सरकारी वकिलको कार्यालय रामेछापमा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए।
‘अब भेटिएको तथ्य र प्रमाणको आधारमा विश्लेषण होला।’ उनले भने, ‘अदालतबाट तेस्रो पटक म्याद थप गरेको म्याद आज सकिन लागेकाले अदालतमा फाइल अगाडि बढ्न सक्छ, नत्र दुई दिन म्याद बाँकी भएकाले थप्नुपर्ने हुन्छ।’
उनका अनुसार स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी शरिर बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो।
उपभोक्ता समिति गठन गरी गाउँपालिकाबाट धोबी बजार क्षेत्रमा सडक तथा नाला निर्माणका बजेट प्राप्त भएको थियो।
गाउँपालिकाबाट उपभोक्ता समितिको खातामा रकम आइसकेपछि खड्काले चेकमा हस्ताक्षर गर्न दवाब दिएको र नगरेपछि धम्कीपूर्ण भाषा प्रयोग गरेको समितिका एक सदस्यले जानकारी दिए।
उनले समितिका पदाधिकारीले हस्ताक्षर गर्न नमानेपनि पछि खातामा रहेको रकम निकालिसकेको बताए। उनकाअनुसार सडकमा स्टमेट अनुसार काम पनि पूर्ण र स्तरिय हुन सकेको छैन।
प्रहरीले शरीर बन्धकको आरोपमा पक्राउ गरेका अध्यक्ष खड्काबाट आफू ठगिएको भन्दै स्थानीय एक वृद्धले मुद्दा दर्ता गराएका थिए।
लिखुतामाकोशी गाउँपालिका ३ का वृद्ध शेरबहादुर खड्काले आफ्नो नामको जग्गा गाउँपालिकाको नाममा पास गर्ने भन्दै अर्कै व्यक्तिको नाममा पास गरेपछि मुद्धा दिएका हुन्।
शेरबहादुरकी जेठी बुहारी अम्बिका खड्काले गाउँपालिकाले कार्यालय राख्नका लागि जग्गा चाहेको खण्डमा केहि जग्गा निशुल्क र केहि जग्गा शुल्कसहित विक्री गर्न आफूहरु तयार भएको भएपनि पालिका अध्यक्ष खड्काले झुक्याएर अर्कै व्यक्तिको नाममा पास गरेपछि उजुरी गर्नुपरेको बताइन्।
‘जग्गा दिने दाता कोही नभएपछि स्थानीय सरकार हो, विकास आउँछ भने अलिकति खुल्ला पनि छ गाउँपालिकालाई जग्गा दिउँ भनेर बुबालाई पनि कन्भिन्स गरेका थियौं ’, उनले भनिन्, ‘तर अध्यक्ष खड्काले गाउँपालिकालाई भनेर बुबालाई लगेपनि पछि मालपोतमा गएर बुझ्दा सुनिता गुरुङको नाममा पास गरेको जानकारी पाइयो।’
यसैबीच अध्यक्ष खड्कालाई एक किशोरीले बलात्कारको आरोपमा मुद्दा दिएकी छन्। एक महिलाले दश महिना अघि आफूलाई खड्काले बलात्कार गरेको अभियोग लगाउदै बलात्कारको मुद्दा दर्ता गराएकी थिइन्।
कानुनअनुसार बलात्कारको अभियोगमा एक वर्षसम्म मुद्दा दर्ता गर्न पाइने प्रावधान छ।
२१ भदौ २०७७, आइतवार ११:१० बजे प्रकाशित













