बुवामाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

आफ्नै बुवासहित दुईजनालाई खुकुरी प्रहार गरी वेपत्ता भएका उदयपुरको रौतामाई गाउँपालिका ७ पाखाटोलका २६ वर्षीय खम्बसिंह परियारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

शुक्रबार राती करिब १० बजे घरमा धामीझाक्री राख्ने क्रममा विवाद उत्पन्न भएपछि ५८ वर्षीय बुवा गंगाबहादुर परियार र त्रियुगा नगरपालिका ७ ज्यामिरेका ५५ वर्षीय धामी जुद्धबहादुर मगरलाई खुकुरी प्रहार गरी परियार वेपत्ता भएका थिए ।

मदिरा सेवन गरी घर पुगेका परियार र बुवाबीच भनाभन भएपछि खुकुरी निकाली अन्धाधुन्द प्रहार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

खुकुरी प्रहारबाट गंगाबहादुरको टाउको, कुममा र जुद्धबहादुरको गर्धनमा गहिरो चोट लागेको एसपी दाहालले बताए । गम्भीर अवश्थामा रहेका दुबैको विराटनगरस्थित गोल्डेन अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै फरार रहेका उनलाई प्रहरीले पाखोटोलको जंगलमा लुकिछिपी बसेको सूचनाका आधारमा घेरा हालेर पक्राउ गरिएको एसपी दाहालले बताए । पक्राउ परेका परियारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

७ भदौ २०७७, आइतवार १५:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु