द्विपक्षीय विषयमा छलफल गर्न मोदी-ओली सहमत

नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी गरेका थिए । उनीहरुबीच भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई एवं शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उहाँमार्फत भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गरे ।

‘स्वतन्त्रता दिवसका अवसरमा गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरूपमा प्राथमिकतामा राखिएको बताउनुभएकामा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो”, मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो । ”

३१ साउन २०७७, शनिवार २२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु