कोरोनाबाट विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।

सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । सोमबार भर्ना भएका पुरुषको बुधबार बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले बताए ।

मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो । बुधबार बिहानसम्म उनको अवस्था सामान्य थियो । तर दिउँसो अवस्था गम्भीर बनेको थियो

विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । वडा नम्बर ९ मा २ जना, वडा नम्बर ५/ १० का १/१ जनाको यसअघि नै मृत्यु भइसकेको थियो ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङको बुढीगंगा गाउँपालिका– २ का ५५ वर्षका पुरुषको मृत्यु भएको थियो ।

२८ साउन २०७७, बुधवार १९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु