कोरोनाबाट धादिङका युवकको मृत्यु

काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार उनी साउन २४ गते रुघाखोकी र ज्वरो आएपछि नजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकीमा उपचारका लागि गएका थिए । स्वास्थ्य चौकीका इन्चार्ज बालकृष्ण गुरुङले उनको उपचार गराएर केही औषधि पनि दिएर थप उपचारको लागि जिल्ला अस्पताल धादिङमा पठाइदिए ।

उनी साउन २५ गते जिल्ला अस्पताल धादिङ आए । उनलाई जिल्ला अस्पतालमा उपचारपछि स्वाब संकलनको लागि काठमाडौं पठाइयो । उनी काठमाडौं आएपछि साउन २७ गते मंगलबार धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन उनको स्वाब संकलन गरियो । ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले उनलाई उपचार गर्ने जिल्ला अस्पताल र धुवाँकोटको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूलाई परिवारको सम्पर्कमा नजान भनिएको छ ।

२८ साउन २०७७, बुधवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु