शेरबहादुर नसच्चिए पार्टी फुट्ने रामचन्द्रको चेतावनी
विभाग गठन गर्दा महाधिवेशन आचारसंहिता नलाग्ने देउवा पक्षको दाबी

काँग्रेस सभापति शेरबहादुर देउवा नसच्चिए पार्टी फुट्ने चेतावनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दिएको छ ।
सभापति देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेपछि संस्थापन इतर समूहले आपत्ति जनाएको छ ।
आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका थिए भने उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्य थपेका थिए । पौडेल समूहको विरोधलाई बेवास्ता गर्दै देउवाले विभाग गठन र विस्तार गर्दै आएका छन् ।
देउवाले गत फागुन तेस्रो साता आफ्नो चार वर्षको कार्यकाल सकिएपछि ४७ मध्ये २० वटा विभाग गठन गरेका थिए । पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी २० वटा विभाग गठन गरेका थिए । देउवाले अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयन गरिसकेका छन् ।
पार्टी विधानमा एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था भए पनि देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन् ।
अहिलेसम्म विभाग प्रमुखसहित ५ सय २१ जना नेता कार्यकर्तालाई विभागमा जिम्मेवारी दिएका छन् ।
देउवाले पार्टीभित्रको ६०–४० को हिसाब किताबअनुसार सबै विभाग गठन र पूर्ण विस्तार नगरेको केन्द्रीय सदस्य एनपी साउदको भनाइ छ । तर बरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने यतिबेला विभाग गठनको औचित्य नभएको भन्दै प्रतिवादमा उत्रिएको छ ।
वरिष्ठ नेता पौडेलले नीति, विधि र विधान मिचेर गरिएका कामविरुद्धको आफूहरुको अभियान महाधिवेशनसम्मै जारी रहने बताए ।
उनले भने, ‘विधानतः तेह्रौं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू अहिले चौधौं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि गठन गरिनुबाट विधानको पूरै उल्लङ्घन भएको छ । यस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रको धज्जी उडेको छ ।’
पौडेलले सभापति देउवाबाट विधि पद्धति मार्ने काम भएको बताए ।
‘विधि विधानलाई मिचेर आफ्नो अनुकूलमात्र गर्न खोज्ने ! आफू अनुकूल भएमात्र अधिवेशन गराउने नभए चुनावै नगराउनेरु यो त सिस्टम मर्यो नि । विधि विधान मर्यो नि ।’
देउवाको गतिविधिप्रति नेता कार्यकर्ताबाट सशक्त प्रतिवाद हुन सकेको उनको गुनासो छ । ‘हाम्रा साथीहरु अझै बोल्न कन्जुस्याई गर्नुहुन्छ । बोल्न कन्जुस्याई नगर्नुस् भन्छु म । सही सत्य कुरालाई अगाडि ल्याउनुस् भन्छु । सत्य अगाडि नआए असत्यले ढाक्छ,’ आफ्नो कमजोरीबारे उनले भने, ‘बोल्दा पनि जसरी बोल्नुपथ्र्यो त्यसरी बोल्न सकिरहेका छैनौं ।
साथीभाइहरुलाई म सुधारेर लानुपर्ने कुरा मैदानमा राखौं भनिरहेछु । म फेरि पनि भन्छु हाम्रो यो अभियान जारी रहन्छ ।’
देउवाको कामप्रति यस्तै आक्रोश नेता शेखर कोइरालामा पनि देखिएको छ । रातोपाटीसँग उनले भने, ‘पार्टीका विभिन्न निकाय ६ महिनाभित्र गठन गर्ने विधानमा भनिएको छ । तर सभापतिजी त साढे चार वर्ष सुतेर बस्नुभयो ।
यतिबेला विभाग बनाएर दिवालियापन देखाइराख्नु भएको छ । महाधिवेशनलाई प्रभावित गर्न उहाँले यो सब गरिरहुनुभएको छ । आफू जित्न र आफ्नो समूहलाई जिताउनलाई यो गरिरहनुभएको छ ।’
तर कोइरालाले आसन्न महाधिवेशनमा देउवालाई भोट गन्ने चुनौति दिए । उनले भने, ‘म उहाँलाई चुनौति दिन चाहन्छु महाधिवेशन गराउनुहोस्, सभापतिजी तपाईलाई कति भोट हाल्छन् हेर्नुहोला रु पाँच वर्षको दौडानमा तपाईँले यो यो काम गलत गर्नुभयो भनेर कार्यकर्ताले जवाफ दिनुहुन्छ ।’ कोइरालाले पनि यो इस्यु अधिवेशनसम्म लिएर जाने बताए ।
उनले भने, ‘जसरी नेकपा सरकारले गरेका गलत कुराको फेहरिस्त राखेका छौं । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा लिएर जान्छौँ । त्यसैगरी पार्टी महाधिवेशनमा पनि उहाँका गलत कामहरु लिएर जान्छौँ ।’ देउवालाई चुनौति दिन आफू पनि तयार रहेको भन्दै कोइरालाले अगाडि भने, ‘हामी साथीभाइहरुले त्यसको तयारी गरिरहेका र्छाँं । म आफैं पनि यी विषय लिएर मैदान जाने तयारी गरिरहेको छु । नेता कार्यकर्तासित भेटघाट गरिरहेको छु ।’
सभापति देउवामा लोकतान्त्रिक संस्कार र सच्चिने इच्छाशक्ति नै नभएका कोइरालाको आरोप छ ।
‘हाम्रो विरोधका बीच विभाग गठन गर्दै गइराख्नुभएको छ । उहाँमा करेक्सन हुने इच्छाशक्ति नै छैन ।
करेक्सन हुन त डेमोक्रेटिक कल्चर हुनुपर्यो, शेरबहादुरजीमा यस्तो संस्कार नै छैन,’ उनले भने, ‘हामीले पार्टीभित्र जुन लोकतान्त्रिक पद्धति विकास गर्दै आएका थियौँ । बिपी कोइरालादेखि सुशील कोइरालाले सबैलाई सम्झाएर बुझाएर सरसल्लाह गरेर अगाडि जाने त्यो लोकतान्त्रिक पद्धति नै हटाउन थालिएको छ । नेपाली काँग्रेसभित्र आन्तरिक लोकतन्त्र विस्तारै समाप्त हुँदै छ ।’
विधि विधानलाई पनि पन्छ्याएर आफ्नो ढंगले काम गर्दै जाने परिपाटी विकास भएको काइरालाको बुझाइ छ ।
‘हामी धेरै बोलिराखेका छौँ, भनिराखेका छौँ तर यसले कुनै दिन पार्टीभित्र विस्फोटको रुप लिनसक्छ । यतिबेला पार्टीभित्रको ठूलो समूहका विरोधकाबीच पनि शेरबहादुरजी गलत काम गर्दै हुनुहुन्छ,’ कोइरालाले भने, ‘यो त राजनीतिक संस्कारै नभएको भयो नि त रु शेरबहादुरजीले यस्तो अलोकतान्त्रिक काम गर्न मिल्छ ? उहाँ र उहाँको कोटरी जति अनडेमोक्रेटिक कोही हुँदैन ।’
काँग्रेसको नेतृत्व नै अलोकतान्त्रिक हुँदा कांग्रेसले अरूलाई लोकतन्त्र सिकाउन नसक्ने उनको भनाइ छ ।
सुशील कोइराला सभापति हुँदा विभाग गठनबारे भएको लफडाको स्मरण गर्दै कोइरालाले भने, ‘सुशील कोइरालाको पालामा विभागमा यस्तै विवाद भएको थियो । चार वर्षको कार्यकालमा उहाँले दुई वर्षमा विभागहरू बनाउन थाल्नुभयो ।
शेरबहादुरजीले विरोध गर्नुभयो र केन्द्रीय समितिमा सहभागी हुनुभएन । सुशीलजीलाई लाग्यो होला, समयमा गर्न सकिएन, काँग्रेसलाई एक ढिक्का राख्नैपर्छ, अनि उहाँले विभागहरू गठन गर्न बन्द गर्नुभयो ।’
तर आज देउवा त्यही ठाउँमा हुँदा पनि गलत काम गर्दै गएको उनको भनाइ छ । कोइरालाले रातोपाटीसँग भने, ‘उहाँ पार्टी समूहलाई विश्वास नै गरिरहनुभएको छ । एकल ढंगले हिँड्न खोजी रहनुभएको छ ।
त्यसलाई हामी चुनौति दिनुको विकल्प छैन ।’ विभाग गठनको निर्णय खारेजीको मागसहित पार्टीको निर्वाचन समितिमा उजुरी, देउवालाई ध्यानाकर्षणपत्र र पत्रकार सम्मेलन गरेर पौडेल पक्षले विरोध गरेको थियो ।
कोइरालाले भने, ‘चारैतिर बोलिराखेका छौँ । अहिलेसम्म हामी उहाँ गलत कामको विरोध पार्टीभिबाट मात्र गर्दै थियौंँ अब सार्वजनिक रुपमा विरोधमा उत्रिन्छौँ । उहाँ सुर्धिनुहुन्न् भने नेपाली काँग्रेसका कार्यकर्ताले सुधार्नुहुन्छ ।’
सह–महामन्त्री प्रकाशशरण महतले सभापति देउवाले विधानसम्मत रुपमा विभाग गठन गरेका भन्दै महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने दाबी गरे ।
देउवाले विभागको गठन गरेर आचारसंहिता विपरित काम गरेको पौडेल पक्षको आरोपको महतले खण्डन गर्दै वडाहरुले सदस्यहरुको नामावली बुझाएपछि आचारसंहिता लागू हुने बताए ।
२६ साउन २०७७, सोमवार १८:०४ बजे प्रकाशित