आगामी महाधिवेशन कांग्रेस सभापतिमा उठ्छु : गगन थापा

'मेरो नेतृत्वमा आमचुनावमा पार्टी पराजित भए सभापतिबाट राजीनामा दिन्छु'

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् ।

महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गरे ।

‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उनले भने ।

उनले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताए ।

‘आगामी महाधिवेशन कांग्रेस सभापतिमा उठ्छु, वा कसैलाई सघाउन पनि सक्छु,’ थापाले भने ।

अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उडाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वाभाविक भएको पनि उनले बताए ।

आफू पार्टी सभापति भएमा पार्टीका सबै संरचना फेर्ने उनले बताए ।

आमचुनावमा पार्टीले हार बेहोरेमा नैतिकताका आधारमा राजीनामा दिने व्यवस्था गर्ने उनको भनाइ छ ।

‘पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्छ, यसले नयाँ नेतृत्व आउन मद्दत गर्छ, यदि मेरो नेतृत्वमा २०७९ को आमचुनावमा पार्टी पराजित भए सभापतिबाट म राजीनामा दिन्छु, यसले अर्को सक्षम नेतृत्व आउन सहयोग पुग्छ,’ उनले भने ।

२४ साउन २०७७, शनिवार २२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु