डाक्टर केसीबारे गाउँपालिका क्रुर, बिरामीको निःशुल्क उपचार मा अवरोध
डाक्टर केसीबारे जुम्लाको जगदुल्ला गाउँपालिका क्रुर बनेको छ । डाक्टर केसीले गर्न लागेको बिरामीको निःशुल्क उपचार मा गाउँपालिकाले अवरोध गरेको छ ।
हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी दुई दिन पैदल हिँडेर साउन १३ गते डोल्पा पुगे । जुम्ला सदरमुकाम खलंगाबाट पैदल हिँडेर उनी जगदुल्ला गाउँपालिका–६, रिमी पुग्नुको उद्देश्य थियो त्यहाँका बिरामीको निःशुल्क उपचार गर्नु । तर, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिले अवरोध गर्दा उनी निराश भएर फर्केका छन् ।
डा। केसीले जगदुल्ला गाउँपालिका–६ मा रहेको रिम स्वास्थ्यचौकी शिविरस्थल छनौट गरेका थिए । त्यहाँ पुगेपछि स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उपचारका लागि शिविर हुने भएकाले गाउँलेलाई खबर गरिदिन अनुरोध गरे । डा। केसी आएको थाहा पाएपछि केही गाउँले स्वतस्स्फूर्त स्वास्थ्यचौकीसम्म पुगेका थिए । स्वास्थ्यचौकीले भने जानकारी गराइदिएन । गाउँपालिकासँग समन्वय नगरेको विषयलाई मुद्दा बनाइयो । गाउँपालिकासित समन्वय नगरेको तथा गाउँपालिकालाई जानकारी नगराइएको भन्दै गाउँपालिका अध्यक्ष नारासिंह रोकायको निर्देशनमा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खबर गरिदिएनन् ।
१३ गते बेलुका रिमी पुगेका डा। केसीले १४ गते केही बिरामी जाँच गरे । वातावरण सहज नभएपछि उनी १५ गते बिहानै जुम्ला फर्किए ।
दुई दशकसम्म देशका विभिन्न कुनाकाप्चामा पुगेर स्वास्थ्य सेवा दिनेक्रममा आफूले पहिलोपटक नमिठो अनुभूति गर्नुपरेको डा।केसीको भनाइ छ । आफ्नै कारण स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले धम्की सहनु परेको केसीले बताए ।
लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्तो व्यवहारको अपेक्षा आफूले नगरेको उनले बताए । रिमी स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्य सेवा प्रदान गर्नबाट रोक्ने गरी गाउँपालिका अध्यक्षले उक्त स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई धम्की दिएको डा। केसीको आरोप छ । ‘म कुनै राजनीतिक कार्यक्रम गर्न गएको होइन, न त सरकारको विरोध गर्न गएको हुँ,’ उनले भनेका छन्, ‘मेरो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्नु थियो, तर समन्वय नगरिएको विषयलाई ठूलो इस्यू बनाइनु पीडादायी क्षण भएको छ ।’
२२ साउन २०७७, बिहीवार ००:३० बजे प्रकाशित













