आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको तथ्यांक सार्वजनिक
नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्यांकले देखाएको छ ।बदला लिन, प्रेम सम्बन्ध सफल नहुनुजस्ता कारणले आफन्तहरूबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्यांकले देखाएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्यांक रहेको बताए । संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटनामध्ये आठवटा बदलाको भावनाले घटेको बताए ।
प्रेम सम्बन्धमा खटपट आएका कारण पाँच र अनुहार कुरुप बनाउने हिसाबले दुईवटा एसिड आक्रमणका घटना घटेको पाइएको उनले बताए ।
महान्यायाधिवक्ता अग्नि खरेलले एसिडजस्ता रासायनिक पदार्थहरूको सहज उपलब्धता नहुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए । सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरू बढी घट्ने गरेको उनले बताए । सरकारले बिक्री-वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने उनले बताए ।
एसिडजस्ता रासायनिक पदार्थहरू आयात गर्ने उद्योग प्रतिष्ठानसम्बन्धी ऐन–कानुन भए पनि बिक्री–वितरणका लागि कुनै कानुन छैन । नेपालमा सबैभन्दा बढी ब्याट्री तथा इन्भर्टरहरूमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ ।
इलेक्ट्रोनिक तथा सोलार इभर्टर उपलब्ध हुने ठाउँहरूमा यो सुलभ रूपमा पाइन्छ । सरकारले एसिडको बिक्री–वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानुनी व्यवस्था गरे एसिड आक्रमणका घटनाहरूमा केही कमी आउन सक्छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा आठ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरूको सुझाब छ ।
२० साउन २०७७, मंगलवार ०९:२५ बजे प्रकाशित





