‘अर्ली महाधिवेशन’ को आफ्नै प्रस्तावबाट पछि हटे ओली

आज पनि दुई अध्यक्षबीच छलफल हुने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनको यताको संवादहिनता तोडिँदै पुनः संवाद सुरु भएको छ ।

तर, एक पछि अर्को नयाँ नयाँ प्रस्ताव गर्ने कार्य चलिरहेको छ ।

पार्टीका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेका ओलीले ‘अर्ली महाधिवेशन’ को प्रस्स्ताव गरे । तर पछिल्लोसमय उनी आफ्नै प्रस्तावबाट पछि हटेका छन् ।

स्रोतका अनुसार आइतबार र सोमवारको संवादमा पनि नेताहरुले पुरानै विषयबाट कुराकानी सुरुवात गरेका थिए । त्यसक्रममा नेताहरुबीच कुनै ठोस सहमति नभएपनि संवादलाई निरन्तरता दिन भने उनीहरु सहमत भएका छन् ।

‘संवादको सुरुवात भएको छ । यसलाई निरन्तरता दिँदै उठेका विषयहरुमा थप छलफल गर्ने वातावरण बनेको छ’, अध्यक्ष प्रचण्डले ओलीसँगको संवादपछि आफू निकटका नेताहरुसँग ब्रिफिङ गरेका थिए ।

बुझिएअनुसार यसअघि ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’को प्रस्तावबाट भने उनी पछि हट्ने संकेत देखाएका छन् ।

‘मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन । त्यसैले विधि र प्रकृयाबाटै म छोड्छु । त्यसका लागि अर्ली महाधिवेशन तपाईंहरुलाई स्वीकार्य छैन भने केन्द्रीय समितिले तोकेकै मिति चैतमा मा महाधिवेशन गरौँ’,आइतबारको संवादका क्रममा ओलीले भनेका थिए ।

बैठकमा ओलीले अर्ली महाधिवेशन मान्य नभए आफू तोकिएकै मितिमा महाधिवेशन गर्न तयार भएको भन्दै त्यसका लागि प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेको स्रोतको भनाइ छ ।

जवाफमा प्रचण्डले ओलीको उक्त प्रस्तावलाई सकारात्मक रुपमा लिँदै निकासका लागि पार्टी बैठकलाई निरन्तरता दिनुपर्ने, विधि र पद्धतिको पालना हुनुपर्ने र उठेका विषयहरुमा बैठकमै छलफल गर्नुपर्ने बताएका थिए ।

गत मंगलबार अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड पक्षको बालुवाटारमै बसेको बैठकले संवाद गरेर निकास खोज्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

पूर्वनिर्धारित साउन १३ गतेलाई बोलाइएको स्थायी समिति बैठक ओली एक्लैले स्थगित गरेपछि पार्टी विवाद थप चर्कन पुगेको थियो ।

ओलीले साउन १३ गतेको बैठक एकतर्फी स्थगित गरेपनि प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाली पक्ष बालुवाटारमै भेला भएर ओलीलाई बैठक नरोक्न र बैठकमा बस्न आग्रह गरेका थिए । तर, ओलीले बैठकमा सहभागी नहुने जवाफ दिएपछि २९ स्थायी समिति सदस्यबीच बैठक बसेको थियो ।

त्यसैदिन उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीले पाँचै वर्ष सरकार चलाउने र प्रचण्डले एकता महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्नुपर्ने विकल्प अघि सारेका थिए । त्यसको दुई दिनपछि प्रचण्डलाई भेट्न खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीलाई निकास निस्कने गरी छलफलमा बस्न प्रस्ताव गरेका थिए ।

साउन १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरेपछि प्रचण्डले बहुमत सदस्य सहित बैठक राखेपछि ओली थप चिढिन पुगेका थिए । उक्त बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत निकालेको थियो ।

आज पनि दुई अध्यक्षबीच छलफल हुने बताइएको छ ।

२० साउन २०७७, मंगलवार ०७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु