कोरोना महामारीका कारण बेलोन डि अर स्थगित
एजेन्सी । कोरोना भाइरस महामारीका कारण फुटबल सिजनमा अवरोध देखिएकाले यस वर्षको बेलोन डि अर अवार्ड वितरण नहुने भएको हो । सन् १९५६ यता फ्रान्स फुटबल म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने यस अवार्ड लियोनल मेसीले सर्वाधिक ६ पटक तथा क्रिष्ट्रियानो रोनाल्डोले ५ पटक जितेका छन् ।
सन् २०१८ यता महिलालाई पनि अवार्ड दिन थालिएको थियो, तर यस वर्ष उक्त अवार्ड पनि वितरण हुनेछैन । ‘यो यस्तो अनौठो वर्ष रह्यो कि हामीले यसलाई सामान्य मान्न व्यवहार गर्न सकेनौं । यो भनौं कि हामीले यसबारे निर्णय लिनका लागि कम्तिमा दुई महिना अघिदेखि छलफल थालेका थियौं,’ फ्रान्स फुटबलका एडिटर पास्कल फेर्सले भनेका छन्,‘यो हामीले हल्का रुपमा लिएको निर्णय होइन, तर हामीले यो स्वीकार्नुपर्ने थियो कि यसपटक सामान्य बेलोन डि अर विजेता हुने छैनन् र हामीलाई के कुराले साँच्चै चिन्तित बनायो भने यो अवार्ड फेयर्ली वितरण नहुनसक्छ ।’
महामारीका दौरानमा खेलको नियम परिवर्तित हुँदा यो अवार्ड आफैं पनि प्रभावित भएको थियो । ‘यो सिजनको सुरुवात निश्चित नियमका साथ भएको थियो र अन्त्य अर्कै नियमका साथ भयो । जनवरीमा फेब्रुअरीमा पूरा दर्शकका अगाडि खेल हुन्थ्यों र मेइ तथा जुनमा यो खाली रंगशालामा हुनपुग्यो,’ फेर्सले भने ।
यस वर्षको युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका सरेको अवस्थामा च्याम्पियन्स लिगले यस अवार्डको नतिजामा ठूलो प्रभाव पार्नसक्थ्यों, तर अन्तिम १६ का सबै खेल नसकिँदैं कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता लामो समय स्थगित गर्नुपर्ने अवस्था आयो ।
‘केवल तीन खेल क्वाटरफाइनल, सेमिफाइनल वा फाइनलका आधारमा बेलोन डि अरको निर्णय हुनसक्थ्यों,’ फेर्सले भने,‘त्यहाँ धेरै परिवर्तन भयो, जो पूर्ण रुपमा वैध छन् र विश्वव्यापी स्वास्थ संकटका कारण यसलाई चुनौती दिन सकिन्न, तर हामीले यस वर्षलाई आम वर्षका रुप लिन सक्दैंनौं । फरक परिस्थितिले फरक निर्णयतर्फ अग्रसर गरायो ।’ २१ वर्ष मुनिका खेलाडीलाई दिइने कोपा ट्रफी र उत्कृष्ट गोलकिपरलाई दिइने लिभ यामिन अवार्ड पनि स्थगित भएको उनले बताए ।
६ साउन २०७७, मंगलवार ००:२४ बजे प्रकाशित













