कोरोना त्रास : सांसदहरुले काठमाडौं छोड्न नपाउने
काठमाडौं । वजेट अधिवेशन सुरु हुनुअघि संसद सचिवालयले सबै सांसद र कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्यो । उनीहरुमा कोरोना संक्रमण नभएको पाइएपछि स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर बैठक सञ्चालन भइरहेको छ ।
संसद बैठकमा सहभागी हुने सांसदका लागि संसद सचिवालयले चिकित्सकहरुको सुझावका आधारमा आचारसंहिता बनाएको छ । तर सांसदहरुले पालना नगरेको पाइएको छ ।
हाल दैनिकजसो संसद बैठक बसिरहेको छ । बैठक हल नयाँवानेश्वर आउँदा सांसदहरु समूहमा आएका छैनन् । माक्स प्रयोग गरेकै छन् । हात धुने र ज्वरो नाप्ने पनि गरेका छन् । बैठक कक्षमा सामाजिक दुरी कामय गरेर राखिएका र तोकिएका कुर्सीमा बसेका छन् । आपसमा कुराकानी भएको पनि कमै पाइएको छ । प्रवेश गर्दा र बाहिर निस्कदा फरक फरक ढोका प्रयोग गर्नुपर्ने आचारसंहिताको पालना भएकै छ ।
तर, घरमा गएर एकान्तबास बस्नुपर्ने आचारसंहिताको पालना गर्नमा भने सांसदहरु चुकेका छन् । सचिवालयले आचारसंहितामा भनेको छ, ‘बैठकपछि घरमा गई स्वयं एकान्तबासको नियमहरुको पालना गर्नुहुन ।’
पीसीआर टेस्ट गराएका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई काठमाडौं बाहिर नजान पनि आग्रह गरिएको छ ।
३० वैशाख २०७७, मंगलवार १३:२८ बजे प्रकाशित












