म सुरक्षित रहन छोरोलाई सिमापारि राख्ने ? : शर्मा
काठमाडौं । राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले भारतीय सीमामा रोकिएकालाई स्वदेश ल्याउन, सहरी मजदुरलाई खाने बस्ने प्रवन्ध मिलाउन र कोरोना संक्रमित फेला परेका क्षेत्रमा परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । खासगरी भारतीय भूमिमा रहेकालाई स्वदेश फर्किन नदिएको, कोरोना परीक्षणको दायरा कम भएको लगायतका विषयमा उनको असन्तुष्टि थियो ।
समिति बैठकमा उनले भने, ‘महाकालीपारि रहेकालाई वारि ल्याएर राखौँ । वारि सीमामै उपचार गरौँ। निको भएपछि घर पठाऔँ । निको नभए अस्पताल पठाऔँ । म सुरक्षित रहन छोरोलाई पारि राख्ने ? यो ठिक भएन ।’
भारतको नक्कल गर्न खोजिएको भन्दै उनले नेपाल सरकार गैरजिम्मेवार बन्न नहुने बताए ।
शर्माले भने, ‘जो जहाँ हो त्यहीँ बसौँ सरकार भन्छ, भारतमा मोदीले भने भनेर हामीले पनि त्यही भन्ने रु यो व्यक्तिगत रुपमाभन्दा मलाई ठिक लागिरहेको छैन । उनीहरूको भोट काम लाग्ने, रेमिट्यान्स नोट काम लाग्ने, अहिले संकटमा गैरजिम्मेवार बन्नु हुँदैन ।’
कोरोना प्रभावित क्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री अभाव भएको भन्दै उनले तत्काल पर्याप्त व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
१२ वैशाख २०७७, शुक्रवार १६:१० बजे प्रकाशित













