भोलिदेखि काठमाडौंमा कर्फ्यु
काठमाडौं । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।
यसअघि, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।
फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।
१० चैत २०७६, सोमवार १२:३२ बजे प्रकाशित













