कोरोनाबाट बच्न माक्स जरुरी छैन सरकारले भनिदिनुपर्यो : रामकुमारी झाक्री
Ram-kumari
२२ फागुन, काठमाडौं । कोरोना भाइरसबाट बच्नका लागि सरकारले भिडभाडमा नजान र जानै परे माक्स लगाउन आग्रह गर्दै आएको छ ।
यो भाइरस फैलिएपछि बजारमा माक्सको अभाव समेत भएको छ र अभाव टार्न केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने तयारी गरेका समाचार सार्वजनिक भएका छन ।
तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले कोरोनाबाट बच्नका लागि माक्स जरुरी नहुने बताएकी छन ।
‘मान्छेको लिक्विटबाट सर्ने भएको कारणले, सासबाट नसर्ने भएका कारणले माक्स जस्ता चीजहरुको स्कारसिटी जरुरी छैन भन्ने कुरा सरकारले भनिदिनुपर्यो’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन ।
यस्तै, सांसद झाक्रीले कोभिड–१९ बारे सरकारको आधिकारिक धारणा समेत माग गरेकी छन । कालोबजारी मौलाएको, अभाव सिर्जना गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गरेकी छन ।
सांसद झाँक्रीले प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेको बिचार
कोभिड–१९ को सन्दर्भमा विश्व स्वास्थ्य संगठनले हामीलाई एकदम संवेदनशिल र जोखिमयुक्त देश भनेर र्याङ्किङ गरिसकेको अवस्थामा यसका पछाडि वास्तविकता भन्दा ज्यादा अफवाहहरु फैलिने गर्छन ।
अफवाहरुको कारणले बजारमा कालोबजारी मौलाउने, मान्छेहरु निराश हुने र यस्ता मानवीय संवेदनाका धेरै पक्षहरु निर्मम कठोर हिसावमा समाजमा देखिने अवस्था भएको भएर सबैभन्दा पहिले यस्तै बेलामा सरकारको उपस्थिति चाहिन्छ ।
कोभिड–१९ के हो ? भन्ने सन्दर्भमा सरकारको एउटा एकीकृत धारणा आउनुपर्यो । सोसर मिडियामा आएका फरक फरक भनाईहरुले जस्तो होइन, ठ्याक्कै जनताले के गर्ने हो ? एक, दुई तीन । सरकारको आधिकारिक धारणा आउन जरुरी छ ।
विज्ञहरु भन्छन– कोरोना भाइरस भनेको रुघा लाग्ने प्रकारको अरु थुप्रै भाइरस जस्तै यो अर्को प्रकारको भाइरस हो । यो भाइरस सन २००२÷००३ तिर देखा परेको सार्स भाइरस जस्तै प्रकृतिको भाइरस हो । तर, त्यसमा मोटालिटी रेट, मृत्युदर १० प्रतिशत थियो भने यसको मृत्युदर जम्मा २ देखि ३ प्रतिशत छ । त्यसकारण धेरै गम्भीर होइन, आत्तिनु पर्दैन भनेर विज्ञहरुले भनिरहेका छन ।
एकातिर आत्तिनु पर्दैन भनेर हामीले केही पनि तयारी नगर्ने, अर्कोतिर यसले नागरिकमा ज्यादा निराशा छाउने । यि दुईटा कुराको बीचको काम सरकारले गर्नुपर्छ । कथमकदाचित यो भाइरस हामीकहाँ पनि सर्यो, अथवा यो फैलियो भने यसको जोखिमबाट बच्न धेरै गाह्रो छ । चाइना जस्तो मुलुकलाई पनि दबाइदबाइ परेको अवस्थामा नेपालले यो थेग्न सक्दैन । त्यसकारण हामीले यसमा ज्यादा विकषर्णका कुरामा नै ध्यान दिनुपर्छ ।
यो खाली जनस्वास्थ्यको विषय मात्र पनि छैन । यो विषयले विश्वभरका अर्थतन्त्रका सुचकांकमा तलमाथि पार्ने हो । नेपालकै पनि अर्थतन्त्रका धेरै सुचांकहरु तलमाथि पर्नेवाला छ । हामीले विभिन्न आयोजनाहरुमा काम गर्ने भारतीय र चाइनिज मान्छेहरुका सन्दर्भमा कुरा गर्दै गर्दा हाम्रा आयोजनाहरु समयमा पुरा नहुने कुरा गर्दै गर्दा अब त्यहाँ पनि हामीले केही विषयहरु निक्र्योल गर्नुपर्ने छ । संवेदनशिल आयोजनाहरु पुरा गर्दैछौं, त्यहाँ काम गर्ने मान्छेहरुको आउने र जाने सन्दर्भमा क्वारेन्टाइनदेखि केही समयको मुभमेण्टसम्मलाई रोक्ने कुरामा ध्यान दिनुपर्छ ।
र कालोबजारीलाई एकदमै नियन्त्रण र प्रभावकारी नियन्त्रण गर्नुपर्छ । त्यसैगरी ढुवानीका सामानहरु । यहाँ फेरी आपुर्ति कमजोर नहोस भन्नका लागि ढुवानीका साधनहरु आउनेहरुको पनि क्यारेन्टाइनको व्यवस्थित बन्दोबस्त गर्नुपर्छ । खाली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा मात्रै होइन । बिभिन्न भन्सार नाकाहरुमा पनि यस्ता पोष्टहरु राखेर हामीले गर्यौं भने यो कुरा प्रभावकारी हुन सक्छ । त्यसकारण हामीले अहिले केही पनि होइन र हामी गलिसक्यौं, सत्यानाश भयो भन्ने जस्ता म्यासेज दिन हुँदैन ।
कि यो अरु थुप्रै भाइरस जस्तै अलि जटिल प्रकृतिको छ । तर, यो बाट बच्न सकिन्छ । बच्नका लागि मान्छेको लिक्विटबाट सर्ने भएको कारणले, सासबाट नसर्ने भएका कारणले माक्स जस्ता चीजहरुको स्कारसिटी जरुरी छैन भन्ने कुरा सरकारले भनिदिनुपर्यो ।
र कालाबजारी नियन्त्रका लागि सरकार एकदमै जाग्नुपर्यो । खाली संघीय सरकार होइन, प्रदेश सरकार, ७५३ स्थानीय सरकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।
संगसंगै अर्थतन्त्रका सुचाकंहरु नबिग्रिउन भन्नका लागि हामीले सावधानीपूर्वक हाम्रा कामहरुलाई अगाडि लानुपर्छ । रेमिट्यान्स लगायतका तमाम चिजहरुमा ध्यान दिनुपर्छ ।
२४ फागुन २०७६, शनिवार ०७:४३ बजे प्रकाशित





