धादिङ पाखुरेमा यात्रुवाहक बस पुग्यो, ड्राइभरलाई टिका र मालाले सम्मान

गजुरी, धादिङ । धादिङ गजुरी गाउँपालिका ८ पाखुरेमा पनि यात्रुवाहक बस पुगेको छ । पहिलो पटक यात्रुवाहक बस पुगेपछि पाखुरेबासी हर्षले गदगद भएका छन ।

आदमघाटबाट मजुवासम्म बस सेवा सञ्चालन हुँदै आएको भएपनि पाखुरेसम्म पुगेको थिएन । पाखुरेसम्म पुग्ने बाटो कच्चि र सानो भएका कारण यात्रुवाहक बस सञ्चालन हुन सकिरहेको थिएन ।
सानो र साँघुरो बाटो मै पनि जनतालाई सेवा दिनुपर्छ भन्दै स्थानीय ड्राइभर इश्वरप्रसाद ढकालले शाहस गरेर सोमबार पाखुरेमा बस पुर्याए ।

डरलाग्दो बाटोमा बस चलाएर सेवा दिन सुरु गरेपछि स्थानीयले ढकाललाई शाहसी ड्राइभर भन्दै प्रशंसा गरेका छन ।

गाडी पुगेको हर्षमा स्थानियले गाडी पुजा गरे । ड्राइभर ढकाललाई रातो टिका र माला लगाएर स्वागत र सम्मान दिए । त्यसक्रममा स्थानीयहरु भन्दै थिए, ‘बाटो हेर्दा निकै डर लाग्दो भए पनि चालकले आँट गरे, साहसी रहिछन । गुरुजीले राम्रोसँग चलाउनु हुन्छ हामी खुशी छौँ ।’

स्थानीयले साहसी भनेका गुरुजी (ड्राइभर) ढकाल गजुरी गापा ७ डाडाँगाउँका स्थायी बासिन्दा हुन ।

पाखुरेसम्म बस सेवा सञ्चालन भएपछि गजुरी गाउँपालिका वडा नम्बर ६, ७ र ८ का बासिन्दाले सुविधा प्राप्त गर्न सक्छन ।

यसअघि पाखुरेबासी आदमघाटबाट मजुवासम्म गाडीमा जान्थे । मजुवाबाट पैदल हिड्नुपर्ने बाध्यता थियो ।

२० बर्ष सम्म कसैले हेरेन !

पाखुरेमा २०५५–२०५६ सालमै मोटरबाटो पुगेको थियो । तर, अझैसम्म उक्त मोटरबाटो बस सञ्चालनका दृष्ट्रिले योग्य छैन ।

२० बर्षसम्म पनि मोटरबाटो मर्मतसम्भार गर्नेतर्फ सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । स्थानीयले निरन्तर माग राख्दै आए पनि सरोकारवाला, स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरुले बेवास्ता गर्दै आएको स्थानीयको गूनासो छ ।

पाखुरेबासीको समेत भोटले निर्वाचित शालिकराम जम्कटेल बागमति प्रदेशका कानुनमन्त्री छन । उनले पनि साँघुरो बाटोलाई फराकिलो बनाउनेतर्फ पहल नगरेको स्थानीय बासिन्दाको दुखेको छ । ‘२०५५/२०५६ सालमै आएको बाटो अझै राम्रो छैन ।

सानो र साँघुरो हुँदा निकै डर लाग्दो छ । ढकाल भाईले गाडी चलाउँछु त भने, राम्रैसँग चलाउन सकेको खण्डमा कम्तिमा स्वास्थ्य संस्थामा जान मात्रै भए पनि सहज हुन्थ्यो’ एक बृद्धले इपब्लिकखबरसँग बताए ।

२२ फागुन २०७६, बिहीवार १६:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु