स्वास्थानी चात्नुपर्छ भन्नेलाई सञ्चारमन्त्रीको जवाफ- क्रान्तिकारी भाषणले महिला सशक्तिकरण हुन्न
२८ माघ, काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले क्रान्तिकारी भाषणले महिला सशक्तिकरण नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै नेकपाकी सांसद यसोदा सुवेदी गुरुङले धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको उल्लेख गर्दै महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजवुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी थिइन ।
अर्को कार्यक्रममार्फत संचार प्रविधिमन्त्री बाँस्कोटाले सांसस यसोदालाई जवाफ दिएका छन । काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने उनले बताएका हन् ।
‘काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रूपमा महिला सशक्तिकरण हुन्न’ राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमबाट मन्त्री बाँस्कोटाले भने ।
बाँस्कोटाले अगाडि भने, ‘एउटा नीति निर्माताको तहमा, अर्को कार्यान्वयनकर्ताको तहमा, अर्को आम नागरिकहरू जसलाई आफ्ना हकका कुराहरूको जानकारी चाहिएको छ त्यहाँ छलफल गर्नुस् ।’
रजश्वला भएका महिलालाई छाउगोठमा राखिने कुप्रथालाई अन्त्य गर्नुपर्ने बताउँदै बाँस्कोटाले त्यसका लागि अभियान चाल्न आग्रह गरेका थिए। प्रधानमन्त्रीले सुख र समृद्धि भनेर मात्रै नहुने त्यो पूरा गर्न सबैले काम गर्नुपर्ने उनको भनाइ थियो।
‘रातभरी सुत्दाखेरी त्यसै त रजश्वला हुँदा रगत गएर मान्छे कमजोर हुन्छ उसलाई हेरविचारको आवश्यकता हुन्छ। अरु आरामको आवश्यकता हुन्छ। त्यो बेलामा रातभरी सर्पले ठुँग्ने हो कि, अर्को कोही अपराधी आएर हातपात गर्ने हो १ भनेर चिन्तामा बस्नुपर्ने कुरा, सुरक्षा भन्दा अर्को भय सिर्जना गर्ने कुरा कुन हक हो ?’ उनले भने, ‘त्यसैले ठुलोठुलो क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारिक कुराबाट समाजको रुपान्तरण र परिवर्तन तर्फ लाग्नुपर्छ।’
मन्त्री बाँस्कोटाले सूचनाको हक भनेको कर्तव्य पालनासँग पनि जोडिने दाबी गरे।
२८ माघ २०७६, मंगलवार १५:४१ बजे प्रकाशित





