माननीयको मुख च्यात्ने कि स्वस्थानीको पाना ?
२८ माघ, काठमाडौं । ‘माननीयको मुख च्यात्ने कि स्वस्थानीको पाना ?’ भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद यसोदा सुवेदी गुरुङको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आलोचना हुनुको कारण हो– ‘स्वस्थानीको पाना च्यात्ने अभियान चाहिएको छ’ भन्दै उनलै दिएको अभिव्यक्ति ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको भन्दै महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजवुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताइन ।
‘छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रसासमा सशक्त अभियानको खाँचो छ । जसले धार्मिक अन्धविश्वास भत्काउन सकोस्, छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यात्न सकोस्’ उनले भनिन् ।
छाउपढी बार्ने कुरीति र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न गृह मन्त्रालयले सुरु गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको सांसद सुवेदीले बताइन् ।
‘सदियौंदेखि नेपाली महिलालाई जकडेर राखेको कुरीति भत्काउन छाउगोड भत्काउनुमात्र पर्याप्त हुँदैन’ उनले भनिन् ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु रु मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी छ ।’
कतिपयले हिन्दु धर्मको विरोध गरेको भन्दै गुरुङको आलोचना गरेका छन् ।
२८ माघ २०७६, मंगलवार १५:०३ बजे प्रकाशित





