‘कालापानी जाऔं’ अभियान चलाउँदै क्रान्तिकारी माओवादी

३० मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको मंसिर २६ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा चरणवद्ध आन्दोलन घोषणा गरेको छ ।

आन्दोलनको तेस्रो चरणमा पार्टीको मोर्चा संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा र अन्य जनवर्गीय मोर्चाको पहलमा कालापानी जाऔं अभियान चलाउने बैठकपछि अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलनको पहिलो चरणमा पुस महिनामा पार्टीका जनवर्गीय मोर्चाको बैठक बस्ने, विभिन्न पक्षसँग कार्यगत एकताका लागि छलफल चलाउने र देशका प्रमुख शहरमा विरोध प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीले निर्णय गरेको छ ।

त्यस्तै दोस्रो चरणमा माघदेखि देशब्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जनवर्गीय मोर्चाको संयुक्त अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको वैद्यद्वारा जारीविज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रीय समिति बैठकले अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । वैद्यले प्रतिवेदनमा कतिपय सीमा, समस्या र कमजोरी रहे पनि पार्टी काममा प्रगति हुँदै गएको कुरा उल्लेख गरेका छन् ।

३० मंसिर २०७६, सोमवार १४:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु